ऐतिहासिक ‘भुस पोल्ने’ मेला सकियो



सिर्जना पन्त, बागलुङमेला र महोत्सवको जिल्लाको रूपमा चिनिने बागलुङ जिल्लामा वर्षैभरि कुनै न कुनै मेला र महोत्सव चलिरहेकै हुन्छन्। शुक्रबारबाट शुरू भएको बागलुङको ऐतिहासिक भुस पोल्ने मेला आइतबार सकिएको छ। जिल्लाको ताराखोला गाउँपालिकाका मगर समुदायको पहिचान र पर्वका रूपमा परिचित भुस पोल्ने मेला आइतबार सकिएको हो। विशेषगरी ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने यो भुस पोल्ने मेलालाई सोही स्थानमा बसोबास गर्ने विभिन्न थरका मगर समुदायको पहिचान र सभ्यताको रूपमा लिइँदै आएको छ।

अर्गलमा बसोबास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ती मगरले आफ्नो पहिचान र सभ्यताका रूपमा भुस पोल्ने पर्व मनाउँदै आएका छन्। प्रत्येक पर्व कात्तिक २४ गतेदेखि २६ गतेसम्म उनीहरूले यो पर्व मनाउने गर्दछन्। करिब ९० प्रतिशत मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुस पोल्ने मेलाको छुट्टै विशेषता रहेको छ।  पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाइँ सरी आएका घर्ती मगरले मेलामा आफ्ना समुदायका मानिसको मृत्यु र जन्म संस्कारसँग सम्बन्धित गोपिचन गीत गाउने र नाच्ने गर्दछन््। मेलाको अन्तिम दिन कात्तिक २६ गते उनीहरूले एक वर्षभरि मृत्यु भएका आफ्ना परिवारका सदस्यको बरखी फाल्ने गर्छन्। त्यस्तै २६ गते नै पुर्खाले खेती गरेको सम्झनामा शंखु बारीमा छापे खन्ने र पूजाआजा गरी हिउँदे अन्न बालीको खेती शुरू गरिन्छ।

दिउँसो ४ बजेको समयमा शंखु घरमा पूजाआजा गरी शंखु बारीमा छापे खन्ने गहुँ, जौ छर्ने गरिन्छ। अविवाहित युवायुवतीले बारी नसकुन्जेलसम्म नरोकी खन्ने गर्दछन् भने विवाहितले बीउ छर्ने गर्दछन्। १५औं शताब्दीदेखि शुरू भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रूपमा लिने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्