नेपाल बंगलादेशसँग पराजित



 

काठमाडौं, (नेस)
नेपाली युवा क्रिकेट टोलीको एसीसी यू–१९ युथ एसिया कपमा शुरुआत हारबाट भएको छ। शनिबार बंगलादेशको खेल नेपालले २ विकेटले हारेको हो। वर्षाका कारण दुई पटक प्रभावित भएको खेलमान नेपालले बंगलादेशलाई १ सय ८१ रनको लक्ष्य तेस्र्याएको थियो। बंगलादेशले अन्तिम बल बाँकी राखेर ८ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेपछि नेपालको पुनरागमन सफल हुन सकेन।

अन्तिम ओभरमा १० रनको आवश्यक थियो बंगलादेशलाई। नेपालले ३ विकेट लिनुपर्ने समीकरण थियो। नेपालका कमल सिंह ऐरीले पहिलो खेलको अन्तिम ओभर (४०औं ओभर) को पहिलो बलमै विकेट लिएका थिए। कमलले महिदुल इस्लाम (२३ रन) लाई बोल्ड गरेर नेपालको जितको आशा राखेका थिए। तर पुछारका ब्याटसम्यान नहिम हसन र रोबीउल हकले एक एक चौका प्रहार गरिदिएपछि नेपालले खेल गुमायो। कमलले दुई विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले पनि दुई विकेट प्राप्त गरेका थिए। बंगलादेशको जितमा नयम शेखले सर्वाधिक ५२ रन जोडेका थिए।

यसअघि मलेसियाको कियारा
मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गरेको थियो। वर्षा हुन अघि नेपालले ४० दशमलव १ ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। वर्षाले प्रभावित गरेपछि यति मै नेपालको इनिङ समाप्तको घोषणा गर्दै डकवर्थ लेविसको पद्धतिअनुसार बंगलादेशले १ सय ८१ रनको लक्ष्य पाएको थियो।

नेपालका लागि कोही पनि खेलाडीले अर्धसतक पूरा गर्न सकेनन्। भीम सार्की ४४ बलमा २ चौका र ३ छक्कासहित ४४ रनमै आउट भए। त्यस्तै रोहितकुमार पौडेल ४० र ओपनर मोहम्मद आसिफ शेखले ३० रनको योगदान दिएका थिए। नेपालले आज समूह ए अन्तर्गत आफनो दोस्रो खेलमा भारतसँग खेल्नेछ। नेपालका प्रशिक्षक विनोद दासले यो खेलमा जित हात पार्ने प्रतिक्रिया दिएका थिए। अर्को समूह ‘बी’ बाट श्रीलंका लगातार दुई खेल जितेर सेमिफाइनलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्