‘पैसा बाढ्ने उम्मेदवारलाई बहिष्कार गर्नुपर्छ’



पुष्कर बुढाथोकी, भक्तपुर ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले पैसा बाड्दै भूमिगत रुपमा चुनाव प्रचारमा लागेको उम्मेदवारलाई बहिष्कार गर्नुपर्ने बताउनु भएको छ । बिहीबार नेपाली काँग्रेस भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा आसन्न प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट प्रतिनिधीसभा तर्फका उम्मेदवार रहनु भएका ढुङ्गानाले पैसा र प्रलोभनमा परेर चुनाव जित्नु भनेको प्रजातन्त्रलाई विष हाल्नु सरह भएको चर्चा गर्नुभयो ।

उहाँले दूषित प्रजातन्त्रको जगलाई सफा गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।उहाँले भन्नुभयो–“आसन्न निर्वाचनमा उम्मेदवारले भूमिगत शैलीमा टोलटोलमा गएर पैसा बाढ्न थालेका छन्, त्यस्ता उम्मेदवारलाई बहिष्कार गर्नुपर्छ, प्रलोभनमा पारेर पैसा बाढेर चुनाव लड्ने होईन, हामी जस्तै जनता माझ गएर चुनाव लड्न चुनौती दिन्छौ ।”

भक्तपुर काँग्रेसको विवाद सकिएको दाबी गर्दै ढुङ्गानाले भन्नुभयो–“भक्तपुरका उम्मेदवारले टिकट नपाई म बाहिरको मान्छेले टिकट पायो भनेर काँग्रेसमा सुरु भएको विवाद अब सकिएको छ, पार्टीले विशेष परिस्थितिलाई देखेर मलाई उम्मेदवार बनाएर पठाएको हो, अब मलाई विजयी बनाउन विवाद समाप्त पारेर सिंगो काँग्रेस लागेको छ, त्यसैले मेरो जित सुनिश्चित छ ।”

कार्यक्रममा क्षेत्र नं. १ प्रतिनिधीसभा तर्फका उम्मेदवार बाबुराजा जोशीले आसन्न निर्वाचन वामपन्थीको अधिनायकवाद बिरुद्ध काँग्रेसको लडाई भएको बताउँदै भक्तपुरमा पटक पटक चुनाव जित्ने नेमकिपाले भक्तपुरको विकास गर्न नसकेकाले विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

पार्टी सभापति दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँगे्रसका तर्फबाट क्षेत्र नं. १ प्रदेश नं. १ का उम्मेदवार अनिल भुजु र प्रदेश नं. २ का उम्मेदवार जीवन खत्री तथा क्षेत्र नं. २ प्रदेश नं. १ का उम्मेदवार अंगद खड्का र २ का उम्मेदवार गणेशमान चक्रधर ले भक्तपुरमा काँग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो ।
यसैबीच नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले केदार खड्काको संयोजकत्वमा १५ सय १५ जनाको निर्वाचन प्रचारप्रसार समिति निर्माण गरेको छ । बिहिवार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिको बैठकले खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति निर्माण गरेको हो ।

जसमा निशान ढुङ्गेलको संयोजकत्वमा निर्वाचन परिचालन समिति, किरण न्यौपानेको संयोजकत्वमा स्थानीय घोषणा पत्र निर्माण समिति, अष्टकुमार कवेको संयोजकत्वमा युवा परिचालन समिति र उर्मिला वनको संयोजत्वमा महिला परिचालन समिति निर्माण गरेको नेपाली काँग्रेस भक्तपुरले बिहिवार पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्