लगानीकर्ता चुनावी परिणाम कुर्दै



नेपाल समाचारपत्र
काठमाडौं
विहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ। दिउँसो १ बजेतिर सुधारको संकेत देखाएको बजार सम्हालिन नसक्दा शेयर बजारमा बिहीबार ५ दशमलव ८९ अंकले खस्किएको हो।

कात्तिक ६ गतेदेखि ओरालो लागेको नेप्से परिसूचक घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको हो। बिहीबार कारोबारमा आएका दुई बाहेक सबै उपसूचक घट्दा शेयर बजार सम्हालिन सकेन। बजारमा यस्तो अवस्था सिर्जना हुनुको प्रमुख कारण लगानीकर्ता चुनावको परिणाम कुरेको स्पष्ट भएको जानकारहरूको भनाइ छ।

हाल बजारको ‘कन्फिडेन्स’ घट्दा लगानीकर्ता चुनावी परिणामको प्रतीक्षामा रहेको उनीहरू बताउँछन्। पहिलादेखि नै लगानीकर्ताले बजार घटेको बेलामा मात्र शेयर किन्ने मनोविज्ञानले प्रभाव पारेको हुँदा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको उनीहरू बताउँछन्।

बिहीबार १ हजार ४ सय ६६ दशमलव ६२ अंकबाट शुरू भएको शेयर बजार १ बजेसम्म ओरालो लागेको थियो। त्यसपछि बढेर १ हजार ४ सय ७५ अंकमा पुगे पनि बजार सम्हालिन सकेन। अन्ततः बजार परिसूचक फेरि ओरालो लाग्दै १ हजार ४ सय ६० दशमलव ७३ अंकमा पुगेको हो। अघिल्लो दिन पनि बजार १७ दशमलव ८३ अंकले घटेको थियो।

नेप्से परिसूचक घट््दा बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १९ अंकले घटेर ३ सय ६ दशमलव ७९ अंकमा पुगेको छ। परिसूचक घटेसँगै बिहीबार कारोबार रकम पनि घटेको छ। बिहीबार बजारमा १ सय ५४ कम्पनीका १० लाख ४६ हजार ७ सय २३ कित्ता शेयर ४६ करोड ८२ लाख ४ हजार १ सय २१ रुपियाँमा किनबेच भए। कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ दशमलव ७५ प्रतिशत कम हो। बुधबार बजारमा ४७ करोड ७७ लाख रुपियाँको कारोबार भएको थियो।

बिहीबार शेयर बजारमा १० वटै समूह कारोबारमा आएका थिए। तीमध्ये जलविद्युत् लघुवित्त बाहेक सबै समूह घटेका छन्। बिहीबार जलविद्युत् समूह शून्य दशमलव ७३ र लघुवित्त समूह शून्य दशमलव शून्य ७ प्रतिशतले बढ्यो।

घट्नेमा वित्त समूह पनि सर्वाधिक १ प्रतिशतले घट्यो। त्यस्तै विकास बैंक समूह शून्य दशमलव ६८ र बैंकिङ समूह शून्य दशमलव ५४ प्रतिशतले घट्दा होटल, बीमा, अन्य र उत्पादनमुलक समूह पनि त्रमशः शून्य दशमलव ४३, शून्य दशमलव ३१, शून्य दशमलव १८ र शून्य दशमलव १२ प्रतिशतले घटे। अंकका आधारमा जलविद्युत् समूह ६ दशमलव ५३ अंकले बढ्दा बीमा समूह २४ दशमलव ४५ अंकले ओरालो लाग्यो। बिहीबार बैंक अफ काठमान्डुको शेयरको सबैभन्दा बढी कारोबार भएको छ। बैंकका ३ करोड २० लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक, नागबेली लघुवित्त विकास बैंक र नबिल बैंकका पनि २ करोभन्दा बढीको कारोबार भएको छ।

बिहीबार सबैभन्दा धेरै कमाउनेमा समता माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक कमाएका छन्। कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढ्दा रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ७ दशमलव ६ प्रतिशत गुमाए।

हकप्रद र बोनसको अपेक्षामा बढ्दै आएको बजार हाल लाभांश घोषणाको क्रम चलिरहे पनि बढ्न सकेको छैन्। चुक्ता पुँजी वृद्धिको कारण बाध्यात्मक रूपमा लाभांश दिइरहेका कम्पनीले आगामी वर्षदेखि के हुने हो भन्ने दुविधामा लगानीकर्ता रहेपछि पनि बजार बढ्न नसकेको जानकारहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्