जुरिथुम्की मन्दिर पुन: निर्माण आरम्भ, निर्माणमा ५० लाख रुपियाँ लाग्ने अनुमान



नेपाल समाचारपत्र, इलाम ।
जिल्लाको पश्चिम भेग फुएतप्पामा अवस्थित जुरिथुम्की शिवालय मन्दिरको पुन: निर्माण शुरु गरिएको छ । फाकफोकथुम गाउँपालिका–४को शिवालय मन्दिरको निर्माण आरम्भ गरिएको हो ।
श्रोत्रिय ब्रम्हनिष्ठ अनन्तश्री विभूषित १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, जर्मनका लागि पूर्व राजदूत प्राडा नोवल किशोर राई, विभिन्न स्थानका धार्मिक गुरुहरुले विहीवार संयुक्त रुपमा एक कार्यक्रमका वीच मन्दिर पुन ः निर्माणको सुभारम्भ गर्नुभयो ।
स्वामी ज्ञानानन्द र पूर्व राजदूत राईले मन्दिर पून निर्माणकार्यमा आफूहरुको प्रत्यक्ष÷अप्रत्यक्ष साथ र सहयोग निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो । सोही अवसरमा पूर्व राजदूत राईले आफ्नो तर्फबाट मन्दिर निर्माणका लागि ५ हजार १० रुपियाँ मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो । चार वटै दिशामा ४ ढोका रहने सो मन्दिर काठमाडौंको पशुपति नाथ मन्दिरको स्वरुपमा निर्माण हुने र यसका लागि करिव ५० लाख रुपियाँ खर्च हुने समितिको अनुमान छ ।

मन्दिरकै आफ्नो स्वामित्वमा रहेको जुरिथुम्की डाडाको १ रोपनी आठ आना क्षेत्रभित्र मन्दिर पुन निर्माण हुने समितिका सचिव गोपाल ढुंगानाले जानकारी दिनुभयो । २०३१ सालमा स्थानीय पद्यलाल खनालको पहलमा निर्माण भएको त्यहाँको मन्दिर २०४५ सालको भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । पछि स्थानीय दाताको पहलमा पुन निर्माण भएको मन्दिरको भौतिक संरचना २०६८ र २०७२ सालको भूकम्पले पुन: क्षति पु¥याएको थियो । सो मन्दिरलाई पक्की र आधुनिक शैलीले निर्माण गर्न गत वर्षको चैत महिनामा लगाइएको सप्ताह पुराणमा १६ लाख नगद, जग्गा, भौतिक एवं जिन्सी सामग्री जुटेको थियो ।

अझै पनि आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको समितिका सदस्य सुनिल खनालले बताउनुभयो । स्थानीय दाताले मन्दिरको आम्दानीका लागि ३ रोपनी खेत, करिव ५ रोपनी अलैंचीबारी, मन्दिरको पूर्व पश्चिम दुवै तर्फ सिँढी र कम्पाउण्ड निर्माणका लागि कूल १० रोपनी जग्गा दान गरेका छन् । समिति सचिव ढुंगानाका अनुसार मन्दिर पुनः निर्माणका लागि फाकफोकथुम गाउँपालिकामा १० लाख र सोही गाउँपालिकाकाको वडा नं ४ मा ५ लाख रुपियाँ सहयोग रकम प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्