‘​कांग्रेसले प्रतिपक्षमा बस्न तयारी गरे हुन्छ’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने तयारी सुरु गर्न भनेका छन् ।  नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा उनले अब प्रतिपक्षमा बस्ने पालो नेपाली कांग्रेसको भएको बताएका हुन् । ‘अब उहाँहरु (कांग्रेस) प्रतिपक्षमा बस्नुहुन्छ ।  हामी सरकारमा जान्छौं’ उनले भने ’राष्ट्र निर्माणमा एकजुट हुन चाहने शक्ति मिलेर चुनावमा लड्दैछौं ।’

नेपाल पूण्यभूमि र ज्ञानभूमि भएको बताउँदै यहाँ चटकेले शासन गरेको नसुहाउने पनि ओलीले बताए । उनले भने ‘यस्तो पूण्यभूमि र ज्ञानभूमिमा चटकेले शासन गरेका छन्। जनतालाई झुक्याएको प्रमाण यही हो । अहिलेको सरकारले चटक देखाइरहेको छ।’ ओलीले आफूहरुलाई मंसिर २१ गते कहिले आउला जस्तो भइसकेको पनि ओलीले बताए । अध्यक्ष ओलीले लोकतन्त्रको सन्दर्भमा एमालेका बारेमा भ्रम फिजाउँन खोजिएको भन्दै आपत्ति जनाएका छन् । नेपालका कम्युनिष्टहरु राणाशासन, पञ्चायत र राजतन्त्र सिध्याउन आन्दोलनमा सहभागी भएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै आन्दोलनका बेलामा विदेश बस्नेले आरोपित गर्न नमिल्ने बताए ।

‘आन्दोलनका बेला बाहिर गएर पिज्जामा रमाउने अहिले आएर कम्युनिष्टले लोकतन्त्र मास्ने भनेर भ्रम फिजाउने?’ ओलीले भने, ‘हामीले पञ्चायत सिध्याउने आन्दोलन गर्दा ती वक्ता लण्डनमा जाम दलेर पाउरोटी खादै थिए ।’  नेपालको सीमा क्षेत्रमा महिनौंदेखि ट्रक वारपार गर्न नपाएको भन्दै ओलीले सरकारले सहज आवतजावत गर्नका लागि सरकारले पहल नगरेको आरोप लगाए। ’रक्सौलपारी गएपछि लाइनका लाइन ट्रक छन् । सरकारले भारतसँग पनि कुरा गरेको छैन’ उनले भने ‘कम्युनिष्टको सरकार आएमा सात दिनमा त्यस्ता जाम खोल्छौं । हामी भारतसँग कुरा पनि गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्