मधेसवादी दलका घोषणापत्र खोइ



काठमाडौं, (नेस)
मधेसवादी दलका कारण संविधान निर्माणपछिको सम्पूर्ण निर्वाचनमा ढिलाइ भएको थियो। स्थानीय निकायको निर्वाचन तीन चरणमा गर्नुपरेको थियो। तर पनि असन्तुष्टिका बाबजुद मधेसवादी दल निर्वाचनमा सहभागी भएका थिए।

अहिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मधेसवादी दलले घोषणापत्रसमेत बनाउन सकेका छैनन्। प्रमुख दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। विभिन्न योजना जनतामाझ राख्दै मतदातालाई लोभ्याउन थालिसकेका छन्। बौद्धिक मतदाताका लागि तथा पार्टीको धारणा सार्वजनिक गर्न चुनावी घोषणापत्र महत्त्वपूर्ण मानिन्छ। तर निर्वाचन नजिकिँदै जाँदा पनि मधेसवादी दलले घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्।

मधेसवादी दलमध्येको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले घोषणापत्र तयार गर्न समितिसमेत बनाउन सकेको छैन। राजपा अहिलेसम्म व्यवस्थित हुन नसक्दा घोषणापत्र बनाउन नसकिएको नेताले बताएका छन्।

राजपाका नेता लक्ष्मणलाल कर्ण प्राविधिक कारणले घोषणापत्र तयार हुन नसकेको बताउनुहुन्छ। कर्णले आफू चुनावी अभियानमा लागेको बताउँदै केही दिनभित्रै घोषणापत्र सार्वजनिक हुने बताउनुभयो।

राजपाका अर्का नेता मनीष सुमनले नेताहरू अहिले आ–आफ्नो क्षेत्रमा रहेकाले घोषणापत्र तयार हुन नसकेको बताउँदै स्थानीय निकाय निर्वाचनमा सार्वजनिक भएको घोषणापत्रमा फेरबदल गरी नयाँ घोषणापत्र तयार हुने बताउनुभयो।

सुमनले घोषणापत्र एउटा समितिको जिम्मा दिएर बनाउने भने पनि हालसम्म समिति गठन हुन नसकेको बताउँदै नेपाल समाचारपत्रसँग उहाँ भन्नुभयो– ‘हामी आन्दोलनकारी पार्टी भएकाले एजेन्डा जनताले बुझेका छन्। घोषणापत्र नै पढेर मधेसमा मत दिने कम छन्। त्यसकारण घोषणापत्रमा ढिलाइ भएको हुन सक्छ।’

यस्तै, संघीय समाजवादी फोरम नेपालले पनि हालसम्म चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेको छैन। तर फोरम नेपालको घोषणापत्र तयार भइरहेको छ। घोषणापत्र समितिले काम गरिरहेको फोरमका नेताले बताएका छन्।

फोरमका महासचिव रामसहायप्रसाद यादवले बिहीबार घोषणापत्र छपाइका लागि जाने बताउनुभयो। उहाँले यसै साता घोषणापत्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो।

नेताहरू चुनावी अभियानमा रहेकाले घोषणापत्र निर्माणमा ढिलाइ भएको यादवले स्वीकार्नुभयो। केही नेताले राजपा र फोरमको संयुक्त घोषणापत्र हुनुपर्ने धारणा राखेका थिए। संयुक्त घोषणापत्रका विषयमा छलफल गर्न ढिलाइ भएकोले अब छुट्टाछुट्टै घोषणापत्र बन्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्