दुषित खानेपानीले सिंगो चौरासे टोलका बासिन्दा बिरामी



गणेश घिमिरे, इलाम । दक्षिणि इलामको माइनगरपालिका वडा नम्बर १ को एउटा सिंगो टोलका बासिन्दा बिरामी परेका छन् । माइ नगरपालिका–१ चौरासे टोलका बासिन्दा दुषित पिउने पानीको कारण विरामी परेका हुन् । २५ घरपरिवार बसोवास गर्दै आएका उक्त टोलका अधिकाँश मानिसहरु बिरामी परेको बताइएको छ ।
सिंगो टोलका बासिन्दा नै बिरामी परेपछि स्थानीय दानाबारी स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली समेत त्यहाँ पुगेको छ । टोलीले बिरामी मानिसहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि उपचार उपलब्ध गराएको छ । परीक्षणका क्रममा दुषित खानेपानी प्रयोगकै कारण गाउँमा हैजा फैलिएको स्वास्थ्य चौकी इन्चार्ज पवन पोखरेलले बताउनुभयो । परीक्षणका क्रममा उक्त टोलका सातजना बढी मानिसमा टाइफाइड देखा परेको छ । सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिने गरेको स्थानीयले बताएका छन् । स्वास्थ्य परीक्षणका लागि चौरासे पुगेको स्वास्थ्यकर्मीले खानेपानी शुद्धिकरण गर्ने एक्वाटयाब नामक टयाब्लेट समेत बितरण गरेका छन् । उक्त टयाब्लेट ५÷६ लिटर पानीमा हाल्दा त्यसले पानी शुद्धिकरण बनाउने स्वाथ्यकर्मी इन्चार्ज पोखरेलले बताउछन् । सो टोलबाट धेरै माथि पर्नेे सिद्धिथुम्कामा खानेपानीको मुहान रहेको छ । सो मुहानमा केहि समय अघि परेको अबिरल बर्षापछि भलबाढी पसेको थियो ।
मुहानमा भलबाढी पसेपनि त्यसको सरसफाई लगायतका कार्यहरु नहुँदा खानेपानीको मुहानै दुषित बनेको छ । मुहान माथि बस्ति समेत रहेको र बस्तिबाट हुने फोहोरमैला समेत मुहानमा सिधै पस्ने गरेको चौरासे टोलका लालबहादुर मगरले बताए । खानेपानीको मुहानै लामो समयदेखि फोहोर भएपनि मुहानको संरक्षण तथा सरसफाई भने हालसम्म नहुँदा चौरासेका बासिन्दा दुषित खानेपानीको प्रयोग गर्न बाध्य छन् । सो खानेपानी मानिस संगै गाईभैसिलाई पनि दिन त्यहाँका बासिन्दाहरु बाध्य छन् । माइनगरपालिकाका मेयर दिपक थेबेले फोहोर खानेपानीकै कारण चौरासेका बासिन्दा बिरामी परेको जनाउँदै सो टोलमा आउने खानेपानीको मुहान सरसफाई चाँडै गरीने उल्लेख गरे । तत्काल अब बिज्ञहरुको टोलि सहित मुहानको स्थलगत अध्ययन गरेर बिज्ञको रिपोर्टको आधारमा मुहान संरक्षण लगायतका कार्य गरीने मेयर थेबेको भनाई छ । शिद्धिथुम्कामा रहेको खानेपानीको मुहान बाहेक अन्य बैकल्पिक मुहान नरहेको स्थानीय बासिन्दा बताउँछन् । सो मुहानका उपभोक्ता जम्मा एकसय सात घरपरीवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्