जापानी लगानीकर्ता सम्भावना खोज्दै नेपालमा



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा लगानीको वातावरण अध्ययन गर्न आएको जापानी उद्यमी व्यवसायी र लगानीकर्ताको प्रतिनिधिमण्डलसँग नेपाल उद्योग वाणिज्य महासंघद्वारा मंगलबार काठमाडौंमा अन्तत्र्रिmया गरिएको छ। सिंगापुरमा लगानी गरीरहेका विभिन्न आठ वटा कम्पनीहरुको प्रतिनिधित्व गर्दै आएको १२ सदस्यीय जापानी प्रतिनिधिमण्डल र नेपाली उद्यमी व्यवसायीबीच भएको अन्तत्र्रिmयामा जापानी लगानीकर्ताका तर्फबाट नेपालमा लगानीको वातावरण, लगानीका क्षेत्रहरु, बजार, नीतिगत कुराहरुका विषयमा जिज्ञासा राखिएको थियो।

महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारीहरु, नेपालका लागि जापानी राजदूत मासासी ओगावा र जापान चेम्बर अफ कमर्स एन्ड इण्डष्ट्रिज सिंगापुरका अध्यक्ष तोचीओरी ताकुहिरोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कार्यक्रममा नेपालमा ऊर्जा, कार्गो, होटल व्यवसाय, लजिस्टिक सेवा, कृषि, पर्यटन आदि क्षेत्रमा लगानी तथा आयात निर्यात व्यापारमा इच्छा देखाएका छन्।

उक्त कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले नेपालमा लगानीका लागि सवै प्रकारको सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाउनुभयो। लगानी आकर्षणसँग जोडिएका महत्वपूर्ण ऐन कानुनहरु पारित गर्नुका साथै विदेशी लगानी भित्र्याउन सरकारसमेत उत्साहित भएकाले यो समयमा लगानी गरी नेपालको विकास प्रयासमा सहयोग गर्न अध्यक्ष राणाले जापानी लगानीकर्तालाई आग्रह गर्नुभयो।

त्यस्तै अर्थतन्त्रका परिसूचकहरु निकै सकारात्मक दिशातर्फ उन्नमुख भएको, राजनीति पनि स्थिरतातर्फ उन्नमुख भएको, राजनीतिक दलले आर्थिक विकासको एजेन्डालाई पहिलो प्राथमिकतामा राखेको, स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र राष्ट्रिय निर्वाचनको पनि मिति तय भइसकेकाले यो समय नेपालमा लगानीका लागि अतिनै उपयुक्त भएको स्पष्ट पार्नुभयो।

‘तपाईहरुले सिंगापुरमा गरिरहेको लगानीको सानो अंश तथा तपाईहरुको प्रविधिक अनुभव नेपालमा पनि विस्तार गर्नुहोस्, कस्तो प्रकारको सहयोग चाहिन्छ, सहयोग गर्न महासंघ तयार छ,’ अध्यक्ष राणाले जापानी लगानीकर्ताहरु समक्ष विश्वास दिलाउनुभयो।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापानी लगानी बढाउन कूटनीतिकतर्फबाट पनि पहल भइरहेको जानकारी गराउनुहुँंदै नेपालमा जापानी लगानी तथा विकासको आदान प्रदान गर्न जापानी लगानीकर्तालाई अनुरोध गर्नुभयो। उहांँले यस भ्रमणबाट लगानीका क्षेत्र पहिचान तथा विस्तारमा समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो।

नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलका नेता एवम् जापान चेम्बर अफ कमर्स एन्ड इण्डष्ट्रिज सिंगापुरका अध्यक्ष तोचीओरी ताकुहिराले व्यापार तथा लगानीको वातावरण अध्ययन गर्न आफूहरु नेपालमा आएको जानकारी गराउनु हुँदै नेपाल बसाईका क्रममा नेपाली उद्यमी व्यवसायीसँग भेटवार्ता गरी लगानीका क्षेत्र, बजार सम्भाव्यता, नीतिगत विषय, युवा शक्तिको अधिकतम् सहयोगमार्फत् गर्न सकिने उद्यम व्यवसायका बारेमा अध्ययन गरी लगानी विस्तारका योजना बनाउने भ्रमणको उद्देश्य रहेको स्पष्ट पार्नुभयो। आफ्नो संघले यसका लागि महासंघ नजिकमा रहेर काम गर्ने विश्वास समेत दिलाउनुभयो।

प्रतिक्रिया दिनुहोस्