कीर्तिमानी स्काई ड्राइभरहरूलाई सम्मान



 

काठमाडौं, (नेस)
नेपालका लागि मोरक्को अधिराज्यको वाणिज्य दूतावासले मंगलबार काठमाडौंमा माोरक्कोका विश्व कीर्तिमानधारी स्काई डाइभर तथा स्काई डाइभिङ प्रशिक्षक अनस बक्कालीलाई सम्मान गरेको छ।

पेशेवर स्काई ड्राइभर बक्कालीले हालसम्म अन्तर्राष्ट्रिय स्काई डाइभिङ क्षेत्रमा ७ हजारभन्दा बढी स्काई डाइभिङ सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। नेपालमा पनि सगरमाथाका विविध उचाईबाट स्काई डाइभिङ गर्ने उद्देश्यका साथ सन् २००८ को अक्टोबर २६ तारिखका दिन एभरेष्ट स्काई डाइभ कार्यक्रम स्थापित गरिएको थियो। बक्कालीले गत नोभेम्बर ३ र ४ तारिख गरी दुईपटक सगरमाथाको २३ हजार फिटको उचाईबाट स्काई डाइभ गरेका थिए।

नोभेम्बर ३ तारिखको उनको स्काई डाइभलाई उनले आफ्नै देशको ‘ग्रिन मार्च दिवस’ लाई समर्पित गरेका छन् भने नोभेम्बर ४ तारिखको स्काई डाइभलाई क्यान्सरविरुद्ध जनचेतनाको अभिवद्धि गराउने कार्यका लागि समर्पित गरेका छन्। ५ पटकको विश्व कीर्तिमानी बक्कालीले गत वर्ष ‘ग्रिन र्माच दिवस’ कै अवसर पारेर दुबईस्थित १८ हजार फिट उचाईबाट झण्डासहित हाम फालेका थिए।

वार्षिकोत्सवका अवसरमा बक्कालीसहित उनको टिमका अन्य स्काई डाइभरहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा अमेरिका, न्यूजील्यान्ड, फ्रान्स, स्कटल्यान्ड, बेलायत र साउदी अरेबिया स्काई डाइभर रहेका छन्। टोलीमा विश्व किर्तिमानधारी २१ हजार जम्प सहित गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर, वल्र्ड रेकर्ड होल्डर हाइ अल्टिच्युड पोली एथलिट र त्यस्तै नेपालकी सुनीता शाही पनि रहनुभएको छ।

नेपालमा स्काई डाइभिङका शुरूवातकर्ता पर्यटन व्यवसायी विवेक पाण्डे, एनआरएन बेलायतका संस्थापक सदस्य तथा सल्लाहाकार नविन गुरुङलाई पनि सम्मानित गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव, नेपालका लागि मोरक्को अधिराज्यका अवैतनिक महावाणिज्यदूत बसन्त चौधरी र मोरक्कन राजदूतावास नयाँदिल्लीका मिनिस्टर काउन्सिलर हसार्न अलावली मोस्तोफीले संयुक्तरूपमा सम्मानित व्यक्तिलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्