घोषणपत्रअनुसार काम गर



 

हरेक निर्वाचनको बेला मतदातालाई आकर्षित गर्न राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गर्ने गरेका छन् । विगतका धेरै निर्वाचनमा राजनीतिक दलहरूले निकै आकर्षक नारा अगाडि पनि सारे । विकासे नारालाई एकहदसम्म जनताले विश्वास पनि गरे । मतदान गरेर विजयी पनि गराए । निर्वाचनको क्रममा महत्वाकांक्षी योजनालाई राजनीतिक दलहरूले चुनावी एजेन्डा बनाउने गरेका छन् । देशको विकास र समृद्धिको लागि घोषणापत्र आवश्यक पनि हो । योजनाविना लक्ष्य हासिल गर्न गाह्रो हुन्छ । योजना निर्माण गर्नु राम्रो पक्ष पनि हो । देश विकासको एजेन्डा अगाडि सार्नु पनि सकारात्मक कदम हो । तर नारा र भाषणमा बाँडिने एजेन्डा भने अहिलेसम्म कार्यान्वयन भएका छैनन् ।

राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणापत्र बोलीमा मात्र सीमित भएको छ । व्यवहारमा थोरै पनि लागू भएको पाइँदैन । कुनै पनि एजेन्डा अगाडि सारेपछि त्यसलाई कार्यान्वयन गर्न दृढ इच्छाशक्तिको खाँचो पर्छ । मनबाट नै विकास निर्माणको काम गर्नको लागि सरकारको नेतृत्व गर्दा पनि गर्न सकिन्छ । अहिले राजनीतिक दलहरूलाई जनतासँग उम्किन सजिलो बहाना भएको छ, दिगोसँग सरकार सञ्चालन नै गर्न पाइएन, त्यही भएर देशले समृद्धि र विकासले गति लिन सकेन भनेर । हरेक राजनीतिक दलका कार्यकर्ताहरू बेरोजगारजस्तै छन् । राजनीतिक दलको इच्छाशक्ति हुने हो भने आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिकीसँग जोडिएको विकास निर्माणसँग जोडेर लैजान सकिन्छ । जनताको सेवा गर्ने राजनीति गरेको दाबी गर्ने राजनीतिक दलहरू चुनावको बेलामा मात्र निन्याउरो मुख लिएर भोट माग्न जाने गरेका छन् । चुनावको बेलामा मात्र जिताएर पठाएका प्रतिनिधिहरूलाई जनताले भेट्न पाउनेसम्मको अवस्था छ ।

राजनीतिक दलहरूले सबै जनताको चित्त बुझाउन गाह्रो होला । तर समग्र जनतालाई प्रभाव पार्ने विकास निर्माणको काम के भयो भन्ने महत्वपूर्ण कुरा हो । निर्वाचनको क्रममा भाषण गर्ने जनतालाई आश्वासन बाँड्ने तर निर्वाचन जितेपछि जनताको बीचमा जाँदै नजाने संस्कारले के घोषणापत्रमा उल्लेख भएका विषयहरू कार्यान्वयन होला ? निर्वाचनमा पराजित हुने दलले पनि निर्वाचन हारेपछि जनताको दैलो नै नटेक्ने संस्कार छ । के आफूले बोलेका कुरा पूरा गर्न राजनीतिक दलहरूको जिम्मेवारी होइन ? निर्वाचनको क्रममा जनतालाई ठूला–ठूला आश्वासन होइन, गर्न सकिने साना काम गरेर जनतालाई परिवर्तनको आभास दिलाउन के राजनीतिक दलहरू लाग्लान् ? अब जनतालाई नारा र भाषण मात्र दिने होइन, घोषणापत्रमा उल्लेख भएका एजेन्डाहरू कार्यान्वयन गर्न राजनीतिक दलहरूको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्