ताप्लेजुङमा पुग्यो मतपत्र, मतपत्र मिलाउन कर्मचारी व्यस्त



रविन भट्टराई, ताप्लेजुङ
मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका क्रममा प्रयोग हुने मतपत्र पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभाका लागि प्रयोग हुने ८९ हजार थान, प्रदेश सभाको क्षेत्र नं १ का लागि ४९ हजार थान र प्रदेश सभाको निर्वाचन क्षेत्र नं २ का लागि प्रयोग हुने ४० हजार थान मतपत्र आइपुगेको हो।

मतपत्र पुगेसँगै मतपत्रको रुजु गर्न र बिग्रिएकालाई समेटेर फिर्ता पठाउन कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङका सहायक निर्वाचन अधिकृत गोपालप्रसाद थापाले जानकारी दिनुभयो। थापाका अनुसार समानुपातिकका लागि प्रयोग हुने थप ८९ हजार थान मतपत्र पनि मंगलबार ताप्लेजुङ आइपुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको मतपत्रलाई कुन हालतको छ भनेर सूक्ष्म अध्ययन गरी गन्न थालिएको सहायक निर्वाचन अधिकृत थापाले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ वटा बेग्लै कोठामा मतपत्र थन्क्याएर राख्ने भएको छ। प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को मतपत्र एउटामा, क्षेत्र नं २ को अर्को कोठामा र समानुपातिकको तेस्रो अर्को कोठामा सुरक्षित गरी राखिएको थापाले बताए। मतपत्रको अवस्था हेरेर छुट्टयाउन मंगलबारबाटै टोली परिचालन गरिएको छ। मतपत्र अद्यावधिक गर्ने टोलीले मतपत्र गन्ने, च्यातिएको, फाटेको वा काम नलाग्ने अवस्थाको भएको भए यसको अभिलेख गरी प्रयोग गर्न सकिने संख्याको सूची बनाउने र प्रयोग गर्न सकिने अन्तिम मतपत्रको सूची खडा गर्ने कार्य गर्ने भएका छन्।

मतपत्र अद्यावधिक कार्य शुरू र भण्डारण गरिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षा व्यवस्था अरुभन्दा कडा पारिएको छ। चौबिसै घण्टा कडा सुरक्षा घेरा कायम राखिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उता मतदाता शिक्षा सामग्री पनि सोमबार मात्रै ताप्लेजुङ आइपुगेकाले मंगलबारबाट मतदाता शिक्षा कार्यक्रम शुरू गरिएको जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्