रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा



सुरेश तामाङ, काठमाडौं
नेपालमा रेल मार्गको निर्माणका लागि सम्भावित विभिन्न ठाउँहरूको चिनियाँ टोलीले स्थलगत अध्ययन भ्रमण थालेको छ। रेल विभागको अधिकारीहरूसहित चिनियाँ विज्ञ टोलीले मंगलबार केरुङ–काठमाडौं खण्डको सम्भावित रेल मार्गको स्थलगत अध्ययन भ्रमण थालेको हो।

प्राविधिकसहितको चिनियाँ विज्ञ टोलीले नेपालमा रेल मार्ग बनाउन सम्भाव्यता भएका ठाउँहरू केरुङ–काठमाडौं खण्ड सकाएर पोखरा–काठमाडौं र पोखरा–लुम्बिनी जोड्ने रेलमार्गको स्थलगत अध्ययन भ्रमण गर्ने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त टोली भ्रमण सकाएर शुक्रबार समीक्षा बैठक बस्ने र उक्त टोली शनिबार चीन फर्कने भएको छ। चिनियाँ उपमन्त्रीसहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली नेपाल सरकारको निमन्त्रणमा सोमबार काठमाडौं आइपुगेको थियो।

टोलीसँग सोमबार काठमाडौंमा नेपालको रेल क्षेत्रका लागि अत्यावश्यक संस्थागत विकास र प्राविधिक जनशक्तिको क्षमता विकास, दुवै पक्षले आ–आफ्नो मुलुकमा हालको रेलमार्गको पूर्वाधार विकास र अन्य अवस्थाबारे छलफल गरेको रेल विभागले जनाएको छ।

छलफलमा दुवै देशका अधिकारीहरूले आ–आफ्नो देशको रेल सेवा विकासको इतिहास, सम्भावना र चुनौतीबारे प्रस्तुति गरेका थिए। छलफलमा नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, विभागका महानिर्देशक विष्णुओम बादे, सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायसहित मन्त्रालयका अन्य अधिकारी र चिनियाँ टोलीको नेतृत्व चाइना रेलवे एडमिनिस्ट्रेसनका उपप्रमुख जेङ जियनले गर्नुभएको थियो।

विभागको अधिकारीसहितको चिनियाँ टोलीको भ्रमण सकेपछि शुक्रबार हुने समीक्षा बैठकमा नेपाली पक्षले रेलका प्राविधिक पक्षबारे क्षमता अभिवृद्धि गर्न नेपाली इन्जिनियरलाई तालिम दिने, रेल क्षेत्र विकासमा आवश्यक संस्थागत संरचनाका लागि सहयोग गर्नेबारे अन्तिम छलफल हुने विभागले जनाएको छ।

दुई देशबीच समझदारी भए अहिले रेलमार्गको डिजाइन, विस्तृत आयोजना प्रतिवेदन तयारी, रेलमार्गको स्टेसन निर्माण, रेलका संकेतलगायतका विषयमा नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ।

चिनियाँ टोलीमा चीनको परराष्ट्र मन्त्रालय र यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिलगायत छन्।

प्रतिक्रिया दिनुहोस्