वाम गठबन्धनद्वारा घोषणापत्र फेरबदल



काठमाडौं, (नेस)
नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)सहितको वाम गठबन्धनको घोषणापत्रमा फेरबदल भएको छ।

एक साताअघि अनौपचारिकरूपमा सार्वजनिक भएको घोषणापत्रमा मंगलबार सार्वजनिक हुँदा विभिन्न विषयमा फेरबदल गरिएको छ।

अघिल्लो घोषणापत्रमा संविधान संशोधनको कडा शब्दमा विरोध गरिएको थियो भने अहिले संशोधनलाई सघाउने खालको आशय देखिएको छ। संविधान संशोधन वैधानिक प्रक्रिया भएको अहिलेको घोषणापत्रमा समावेश गरिएको छ। यसअघिको घोषणापत्रमा संविधान संशोधन राष्ट्रहित विपरीत हुन नदिने जनाइएको थियो। तर अहिले उक्त वाक्य नै हटाइएको छ।

घोषणापत्रमा संविधान संशोधनको कडारूपमा विरोध भएको देखिएपछि माओवादीका नेताहरू असन्तुष्ट बनेका थिए।

माओवादीको दबाबका कारण संविधान संशोधनको विषयमा घोषणापत्र नरम देखिएको माओवादी नेता मातृकाप्रसाद यादवले बताउनुभयो।

एमाले नेता भीम रावलले घोषणापत्रमा केही संशोधन भएको बताउँदै अहिलेको घोषणापत्र नै आधिकारिक भएको बताउनुभयो। उहाँले राजनीतिक दलका विषयमा भएको फेरबदलका बारे बताउन चाहनुभएन।

त्यस्तै, यसअघिको घोषणापत्रमा विभिन्न राजनीतिक दलको फरक–फरक व्याख्या गरिएको थियो। तर, मंगलबार सार्वजनिक भएको घोषणापत्रमा नेपाली कांग्रेसलाई मात्र राजनीतिक दलका रूपमा देखाइएको छ। यसअघिको घोषणापत्रमा मधेसवादी दलहरू र राप्रपाप्रति पनि धारणा राखिएको थियो।

यता राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा मधेसको विकासका एजेन्डालाई जोड दिइएको छ। त्यस्तै, उक्त घोषणापत्रमा मधेसलाई टुक्रइउने समूह सक्रिय रहेको भन्दै सचेतसमेत आग्रह गरिएको छ। मधेसको एजेन्डासहितको माग पूरा गर्न संविधान संशोधनको कुरा पनि उठाइएको छ।

प्रतिक्रिया दिनुहोस्