प्रकाशमान कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार



नेपाल समाचारपत्र, काठमाडौँ ।

कांग्रेस नेता एवमं काठमाण्डु क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार आफु नै भएको दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा उनले आफू पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्री भइसकेको बताउँदै कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार आफु नै भएको स्पष्ट पारे । उनले भने, ‘म सबै हिसाबले पार्टीको तर्फबाट अबको प्रधानमन्त्री बन्न योग्य र सक्षम उम्मेदवार हुँ, यसमा कुनै प्रश्न गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।’

उनले यो निर्वाचनमा कसैको पनि बहुमत नआउने ठोकुवा गरे । उनले आफ्नो पार्टी नै अबको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे । उनले थपे, ‘काठमाडौँका जनताले लगातार विश्वास गरेर मलाई विजयी गराउँदै आउनुभएको छ, मलाई मन पराउनुभएको छ, म उपसभापति भइसकेको व्यक्ति हुँ, कांग्रेसबाट काठमाण्डु उपत्यकाबाट कोही पनि प्रधानमन्त्री अहिलेसम्म हुनुभएको छैन, अब यहाँका जनताले मलाई प्रधानमन्त्री भएको हेर्न चाहानु भएको छ, र त्यो क्षमता, योग्यता, र लोकप्रियताका कारण म नम्बर वान हुँ ।’

साझा विवेकशिलका संयोजक तथा पूर्व पत्रकार रविन्द्र मिश्रलाई लक्षित गर्दै नेता सिंहले प्रश्न गर्ने छबि बनाएका मानिसहरुले प्रश्नको हिसाव मिलाउन नसक्ने आरोप लगाए । उनले थपे,‘प्रश्न सोधेर मात्रै हुन्छ रु उत्तर दिन आउनुपर्यो नि १ उनले राजनीति बुझेका छैनन, उनको न पार्टी छ, न त जनता छन् ।’ सिंहले थपे ,‘रविन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छन्, यो क्षेत्रका जनताहरु सचेत छन्, हावाका भरमा बाँडिएका सपनाहरुका पछि लाग्दैनन् ।’

काठमाडौँका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा कांग्रेसले जित निकाल्ने उनको दाबी छ । आधारविहिन सपनाका पोका बाढ्नेहरुलाई भोट हालेर आफ्नो अमुल्य मत खेर नफाल्न समेत उनले आग्रह गरे । उनले थपे,‘देशभर लोकतान्त्रिक शक्तिलाई अत्याधिक मत दिएर विजयी गराउन म यही मञ्चबाट हार्दिक आग्रह गर्दछु ।’

एमाले–माओवादीबीचको गठबन्धनले बहुमत ल्याउँछौँ भनेको छ नि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने,‘यस्ता हावा कुराको पछि नलाग्नुस्, कम्युनिष्टहरुको बहुमत आउँदैन, कांग्रेसको पक्षमा मतदाता छन, कांग्रेसको नेतृत्वमा शान्ति र संविधान आएको जनताले राम्रोसँग बुझेका छन्, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सम्पन्न गर्नुपर्ने भएको कारण पनि आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्छ ।’

आफ्नो प्रतिष्पर्धी कोही नभएको भन्दै एमाले–माओवादीको गठबन्धनलाई साम्यवादी व्यवस्थाको सपना नदेख्न चेतावनी दिए । उनले भने,‘हामीले राणा फाल्यौं, राजा फाल्यौं, विश्वमा कहलिएको र रुचाइएको शासन व्यवस्थाको स्थापित गयौँ, फेरी तानाशाही साम्यवादको परिकल्पना गर्नु केबल दिवा सपना मात्रै हो, जनता यस्तो व्यवस्थाका विरुद्धमा छन् ।’

प्रतिक्रिया दिनुहोस्