बेलायती महारानी एलिजावेथमाथि कर छलीको आरोप



लण्डन, बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरेका छन् ।

उक्त तथ्यको खुलासा संसारका करिब १ सय भन्दा बढी सञ्चार माध्यमहरूले गरेका छन् । महारानी एलिजावेथले करिब १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी लगानी बाह्य क्षेत्रमा गरेको र उक्त लगानीमा कर छली भएको खुलासा भएको छ।

उक्त लगानीबाट महारानी एलिजावेथले करिब ५० करोड पाउन्ड बराबरको निजी सम्पति बनाएको अनुसन्धानले बताएको छ । महारानी एलिजावेथले बाह्य कम्पनीमा गरेको लगानीका कारण उनीमाथि नैतिक प्रश्न खडा भएको छ।

उनले ब्राइट हाउस नामक एक निजी कम्पनीमा लगानी गरेको समेत एक अनुसन्धानले सार्वजनिक गरेको छ । उक्त कम्पनीमा कामदारमाथि चरम शोषण हुने गरेका सञ्चार माध्यमहरूले खुलाएका छन्।

महारानी एलिजावेथ लगायत कन्जरभेटिभ पार्टीका अन्य नेताहरू माथि पनि उक्त आरोप लागेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनका वाणिज्य प्रमुख विल्सर रसले पनि एक शपिङ कम्पनीमा लगानी गरी त्यहाँबाट दस लाख अमेरिकी डलर बराबरको निजी सम्पती आर्जन गरेको खुलासा भएको छ । उक्त कम्पनीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत सेयर रहेको खुलासा भएको छ।

खोज पत्रकारितासँग आबद्ध अन्तर्राष्ट्रिय महासंघ (आइसिआजे) ले उक्त तथ्यलाई पर्दाफास गरेको खबर छ ।

प्रतिक्रिया दिनुहोस्