पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न अल्टिमेटम



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई घरभाडा नतिरेको भन्दै १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गरेका छन् ।

पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेकाले राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्वराष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका छन् । विष्टले सूचनामा १५ दिनभित्र घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिएका छन् ।

पूर्वराष्ट्रपति यादव २०७२ साल कात्तिक २ गतेदेखि ललितपुर महानगरपालिका–४ बागडोलमा भाडाको घरमा बस्दै आउनुभएको छ । उक्त घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ ।

घर धनि विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्