नेपालको शिक्षामा राजनीतिको गलत प्रभाव



 

नेपालमा अहिले ‘राजनीति’ शब्दलाई सकारात्मकभन्दा नकारात्मक किसिमले चित्रण गर्ने प्रवृत्ति छ। अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग राजनीतिलाई परिभाषित गर्नेहरूको संख्यामा पनि कमी छैन। वास्तवमा, स्वच्छ र निःस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य एवं भविष्य सुनिश्चित गर्छ। अहिले हरेक क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्त छ। शिक्षाको विकास र विस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति साधक नभएर बाधक बनेको देखिन्छ। विद्यालयस्तरीय होस् वा उच्च शिक्षामा, अनावश्यक राजनीति व्याप्त छ। राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निर्बाधरूपमा सञ्चालन हुन पाएका छैनन्। यो एक सकस नै हो। राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोका रूपमा शिक्षण संस्था पनि परिचित हुन थालेका छन्। टाठाबाठाको भूलभुलैयामा विद्यार्थी पनि आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नुभन्दा पनि विभिन्नरूपका आन्दोलनमा हाम्फाल्ने प्रवृत्ति छ। कतिपयलाई आन्दोलनको मर्म र धर्मबारे छेउ–पुच्छर थाहा हुँदैन।

आन्दोलनको दूरगामी असरसमेत उनीहरूलाई जानकारी हुँदैन। उच्च शिक्षाका अधिकांश विद्यार्थीको यो हालत छ भने विद्यालयको के होला ?
आजकल गुरुलाई कालोमोसो दल्ने, कुटपिट गर्ने, थुन्नेजस्ता सांघातिक हमलाहरू उनीहरूका लागि पुरुषार्थ ठहर्छ अनि ती ‘सामान्य घटना’मा चर्चा गरिन्छन्। जुन विद्यार्थी राजनीतिको विकृत रूपको पराकाष्ठा हो भन्दा अन्यथा नहोला। देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छेभन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्ने खालको शिक्षा खट्किएको छ। हरेक प्रशासनिक निकायमा राजनीतिक गिद्देदृष्टि राखेर च्याँखे थाप्ने प्रवृत्ति हाबी भएको बग्रेल्ती उदाहरण छन्। समयको मागअनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो। व्यक्तिको भन्दा विधिको, नेताभन्दा नीतिको, सिम्प्टमभन्दा सिस्टमलाई सम्बोधन गर्ने खालको दृढ इच्छाशक्तियुक्त राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा आजको खाँचो हो। शिक्षित र चेतनशील नागरिकमा राजनीतिक चेतना पनि उच्च हुनु स्वाभाविकै हो। तोकिएको आवश्यक सेवा सर्त पूरा नगरीकन शिक्षण संस्था किन खुल्छन् ? शिक्षक, कर्मचारीको नियुक्ति, पदस्थापना, सरुवा आवश्यकता र चाहनाअनुसार विधिसम्मत भएका छन् त ? अनुशासित शैक्षिक वातावरण कायम राख्न किन सकिएको छैन ? यस्तै खाले कतिपय प्रश्नहरू राजनीतितर्फ औंलिन्छन्।

विद्यार्थी, शिक्षक, कर्मचारीलाई आफ्नो योग्यता, क्षमताअनुसार दक्षता प्रदर्शन गरी विवेकपूर्ण निर्णयहरू लिनलाई राजनीतिले प्रभाव पारेको छ। आफैं नीति⁄नियम बनाउने तर त्यसैलाई मिचेर काम गर्न विवश पार्ने प्रवृत्ति अपरिपक्व राजनीतिको होइन र ? अर्को अर्थमा भन्नुपर्दा, पेसाकर्मीलाई प्रत्यक्ष, परोक्षरूपमा निहित राजनीतिक उद्देश्य पूर्तिका लागि कठपुतली बनाइएको छ भन्दा अत्युक्ति नहोला। तसर्थ, भावी पिँढीका राजनीतिज्ञलाई इमानदार बनाउन अहिलेदेखि नै शिक्षा दिनुपर्ने हुन्छ। गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि भविष्यदर्शी योजना, कुशल नेतृत्व एवं व्यवस्थापन, समसामयिक पाठ्यक्रम, लगनशील विद्यार्थी, जवाफदेही शिक्षक, सचेत अभिभावक र जागरुक समुदाय आधारभूत सर्त हुन्। शिक्षक, कर्मचारीलाई उनीहरूको पेसागत दक्षता र विवेकभन्दा पनि राजनीतिक आस्थाको आधारमा मूल्यांकन गरिनुका कारण बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट विमुख भएका छन्।
विद्यालय वर्षको घटीमा २२० दिन खुल्नुपर्ने प्रावधान भए पनि ९० दिन पढाइ भएमा ठूलो उपलब्धि भएको ठान्नुपरेको छ। बरु, बन्द–हड्ताल, जुलुसको प्रमुख तारो विद्यालय हुने गरेका छन्।

पाठ्यक्रम, पाठ्यपुस्तकले निर्धारण गरेको समयावधि पढाइ नभएको अवस्थामा हामीले कस्तो गुणस्तरको अपेक्षा गर्ने हो ? अतः शिक्षण संस्था तोकिएको विधि र प्रक्रियाबाट निर्बाधरूपमा चल्न पाउनुपर्छ। शिक्षण संस्थामा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ। व्यावहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्छ। राजनीतिकर्मीले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरूको भूमिका के हुनुपर्ला भन्नेबारे अभिमुखीकरण गरिनुपर्छ। जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न टेवा पुग्छ। जानी–जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खल्बल्याउने कुत्सित नियत भएका जो–कोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक बहिष्कारसमेत गर्ने नीति अवलम्बन गरिनुपर्छ। समृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाँचो पर्दछ। दक्ष जनशक्ति उत्पादन गर्न साधन–स्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्छ। विद्यार्थीको प्रतिभालाई अधिकतम उत्खनन गरेर उनीहरूको ऊर्जाशील क्षमतालाई सामाजिक रूपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले नै निर्णायक भूमिका खेल्छ।

राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्वसामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहम् भूमिका रहन्छ। त्यसकारण राजनीतिकर्मीले क्षणिक लाभ र स्वार्थलाई भन्दा दूरदृष्टि राखेर दिगो राजनीतिका निम्ति प्रतिस्पर्धी र प्रतिष्ठित देशको रूपमा उभ्याउन शिक्षामा अशोभनीय राजनीति गर्न तत्काल त्याग्नुपर्छ। तसर्थ, शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा भन्ने विषय हरेक राजनीतिक दलले गहन बहस गर्ने बेला आएको छ। शिक्षण संस्थामा कार्यरत शिक्षकदेखि उच्च पदाधिकारीहरूले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति⁄नियम, योजना निर्माण र कार्यान्वयन गरिनुपर्छ। उनीहरूको कार्यदक्षताको मूल्यांकन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धिस्तरलाई प्रतिस्पर्धी श्रमबजारमा खपतको आधारमा दाँजेर हेरिनुपर्छ। सबै राजनीतिक दलहरूले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्ने खालको संकल्प गरेमा निश्चय नै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ।
– संकल्प सुवेदी, उदयपुर, हालः कीर्तिपुर, काठमाडौं

प्रतिक्रिया दिनुहोस्