मतदाता भेट्नै सास्ती, मतदाता खोज्दै नेता खेतबारीमा



सिर्जना पन्त, बागलुङ
ग्रामीण क्षेत्रका बासिन्दा खेतबारीको काममा व्यस्त भएको समयमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वानको कारणले नेताहरू भने भोट माग्नमै व्यस्त छन्। बागलुङ जिल्लाका अधिकांश ग्रामीण भेगमा पुरानो बाली भित्त्याउने र नयाँ बाली लगाउने काम शुरू भएसँगै कात्तिक पहिलो साताबाटै चुनावी प्रचारप्रसार थालेका नेताहरूको भने चुनावी अभियान प्रभावित हुन थालेको छ। धान, कोदोलगायतका अन्न बाली भित्त्याउने र गहुँ, जौं, फापर र आलु लगाउने मौसम शुरू भएको बेला चुनावी प्रचारप्रसारका ब्यानर र झन्डा बोकेर ग्रामीण भेगमा छिरेका नेताहरूलाई मतदाता भेट्न उनीहरूकै खेतबारीमा पुग्नु परको छ।

प्रचारप्रसारको शुरूआती दिनमा चुनावीसभा, कोणसभा र प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरेका राजनीतिक दलका नेताहरूले आजभोलि चुनावी प्रचारको शैली नै बदलेर मतदाता भेटघाट र घरदैलो कार्यक्रमलाई प्राथमिकता दिन थालेको संयुक्त वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डाक्टर सूर्य पाठकले बताउनुभयो। डा. पाठकले सभा र भेलाको लागि मतदाताहरू जुटाउनै समस्या हुनेजस्तो देखिएपछि उनीहरूलाई भेटन खेतबारीमै पुग्न थालेको बताउनुभयो।

नेता र उम्मेदवारहरूले जनतालाई रिझाउन र आकर्षण गर्न नयाँ उपाय पनि अपनाएका छन्। उनीहरूले खेतबारीको काममा व्यस्त किसानहरूलाई आफ्ना एजेन्डा सुनाउन र आकर्षण गर्नका लागि उनीहरूसँगै खेत जोतेको, कोदो ठुटाएको र दाइँ हालेका तस्वीर सामाजिक सञ्जालमा राख्न थालेका छन्। कार्यकर्तासहित चुनाव प्रचारमा पुगेका नेपाली कांग्रेस बागलुङका तर्फबाट प्रदेशसभा १ का उम्मेदवार दीपेन्द्रबहादुर थापा र उहाँका कार्यकर्ताले खेत जोत्दै गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन्। त्यस्तै संयुक्त वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डाक्टर सूर्य पाठकले कोदो ठटाएको र दाइँ हालेको तस्वीर पनि सामाजिक सञ्जालमा राख्नुभएको छ।

संयुक्त वाम गठबन्धनले पछिल्लो समय काममा व्यस्त किसानहरूको माझमै उम्मेदवार परिचय कार्यक्रम गर्न थालेको छ। जिल्लाको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार र कार्यकर्ता बाँडिएर भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। त्यस्तै नेपाली कांग्रेसले चुनावी प्रचारको शैली बदलेर भेटघाट कार्यक्रम शरू गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार चम्फादेवी खड्काले बताउनुभयो। उहाँले सर्वसाधारणको व्यस्त समयलाई नखल्बलिने गरी आफूहरूले चुनावी अभियान सञ्चालन गरेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्