महानगरका मेयरमाथि दोषैदोष, ललितपुर कार्यपालिकाको बैठक बस्न सकेन



सुनील महर्जन, ललितपुर

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरूले विरोध गरेका छन्।

प्रमुख महर्जन निरङ्कुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरूले विरोध गरेका हुन्। विरोधका कारण शुक्रबार तय गरिएको महानगरपालिकाको कार्यपालिकाको बैठक स्थगित गरिएको थियो। नेकपा (एमाले) वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले कार्यपालिकाको बैठक बहिष्कार गर्ने घोषणा गरेपछि तय भएको बैठक स्थगित गरिएको हो।

प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसका भए पनि महानगरपालिकाको कार्यपालिकामा नेकपा (एमाले)को बहुमत रहेको छ। उनीहरूले प्रमुख महर्जनको कार्यशैलीप्रति असहमति जनाउँदै पत्र बुझाएका थिए। यसअघि स्थानीय निकायका कर्मचारीहरूको मनोबल गिराउने, कर्मचारी समायोजनको नाउँमा कार्यकारी प्रमुख हरि दाहालको रुचिमा आवश्यकता नभएका निजामती कर्मचारी ल्याएको भन्दै कर्मचारी एसोसिएसनले समेत पत्र बुझाएको थियो।

वडाध्यक्षहरूले बुझाएको सो पत्रमा प्रमुख विधि, प्रक्रिया मिचेर स्वच्छेचारी तबरले चलेको र महानगरपालिकामा मनपरी गरेको, कार्यपालिकालाई जानकारी नदिईकन कार्यक्रम अघि सार्ने र आर्थिक सहयोग दिने भाषण गरेको उल्लेख गरिएको छ।

‘आफ्ना असफलता, अक्षमता ढाकछोप गर्न हरेक सार्वजनिक कार्यक्रममा फ्लाई ओभर, स्मार्ट सिटीजस्ता ठूलठूला कुरा गर्ने र व्यावहारिक सुधार गर्नुपर्ने काममा खासै ध्यानै नदिने प्रवृत्ति प्रमुख महर्जनको देखियो।’ –विरोधको अगुवाइ गर्ने वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो।

‘जनतालाई भुलभुलैयामा राख्ने, बोर्डलाई जानकारी नै नदिएई पटकपटक विदेश भ्रमणमा जानेजस्ता कार्यले महानगरपालिका र महानगरबासीको वास्तविक समस्या समाधान हुने छाँटकाँट नदेखिएपछि विरोधमा उत्रिनुपरेको हो।’ –वडाध्यक्ष महर्जनले बताउनुभयो।

त्यसैगरी पत्रमा महानगरपालिकामा व्याप्त भ्रष्टाचार, ढिलासुस्तीको अन्त्य गरी सुशासनको प्रत्याभुत गराउन पहल नगरेको, कार्यकारी प्रमुखको रुचिमा मनपरी तवरले कर्मचारी समायोजन गर्न अग्रसर भएको, भूकम्प पुनःनिर्माण र त्रैमासिक आय र व्यय बारे जानकारी नदिएको पनि पत्रमा भनिएको छ।

पत्रमार्फत् असहमति जनाउने वडाध्यक्षहरूमा वडा नं २ का राजेश महर्जन, ३ नं वडा का श्रीगोपाल महर्जन, ४ नं वडा का नारायण केसी, वडा नं ५ का विकासमान श्रेष्ठ, वडा नं ११ का इन्द्रमान महर्जन, वडा नं १२ का नारायणलाल अवाले, वडा नं १५ का सुदर्शन मिश्र, वडा नं १७ का विनोद महर्जन, वडा नं १८ का पुरुषोत्तम खड्का, वडा नं १९ का विनोद ताम्रकार, वडा नं २३ का भुयुकाजी महर्जन, वडा नं २४ का दिनेश कार्की, वडा नं २५ का विष्णुकुमार कार्की र वडा नं २९ का गणेशकुमार महर्जन रहनुभएको छ।
त्यसैगरी विरोधमा उत्रिएका कार्यपालिका सदस्यहरू आपुलु शाक्य, सुप्रभा शाक्य, रुक्मणी महर्जन, संगीता अछामी, मिना महर्जन, रामकुमारी परियार, कृष्णकुमारी नेपाली र नानाबाबु भुसाल हुनुहुन्छ। अहिलेसम्म प्रमुख महर्जन र उपप्रमुख गीता सत्यालले महानगरपालिकालाई अघि बढाउने विषयमा खासै भिजन अघि नसारेको पनि वडाध्यक्षहरूको भनाइ रहेको छ।

आफूसँग कुनै कुराकानी नै नगरी नेकपा (एमाले) का वडाध्यक्षहरू विरोधमा उत्रिएकोमा प्रमुख महर्जनले आश्चर्य व्यक्त गर्नुभयो। ‘उहाँहरूको विरोधमा कुनै तुक छैन। यदि कुनै समस्या छ भने म संग खुला ढंगले सवाद गर्न आउनुपर्यो। हुलाकीले एउटा पत्र दिए झै गरेर बोर्ड बैठक वहिष्कार गर्ने होइन।’ प्रमुख महर्जनले भन्नुभयो।

 

आफू लोकप्रिय बन्दै गएपछि त्यसलाई ढाकछोप गर्न विपक्षी दल नेकपा (एमाले)ले आफ्नो विरोधमा वडाध्यक्षहरूलाई परिचालन गरेको कदमका रूपमा सो विरोधलाई लिइएको पनि प्रमुख महर्जनले दावी गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्