कान्छीका लागि नाचे दयाहाङ पनि



नायिका तथा निर्मात्री श्वेता खड्काले काया फिल्मस् र बुम रेमिटको प्रस्तुतिमा निर्माण गरेको प्रेम कथामा आधारित सामाजिक फिल्म कान्छीको पहिलो गीत भिडियो रिलिज गरिएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच फिल्मको चरी चट्ट परी बोलको गीत भिडियो रिलिज गरिएको हो। राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीतमा अञ्जु पन्तको स्वर रहेको छ।

वसन्त श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा दयाहाङ राई र श्वेता खड्काले कम्मर मर्काएका छन्। नाच्न नजान्ने अभिनेता भनेर चिनिएका दयाहाङ राईले यस गीतमा सबैलाई छक्क पार्ने गरी कम्मर मर्काएका छन्। जसका कारण भिडियो हेरिसकेपछि उनले प्रशंसा पनि पाएका छन्।

कार्यक्रममा पहिलो फिल्म कान्छीमा अभिनय गरेका कलाकारद्वय शिव श्रेष्ठ र शर्मिला मल्लले यो फिल्म पहिलेको भन्दा पनि सफल होस् भन्ने कामना गरे। ‘झण्डै ३३ वर्षअघि निर्माण भएको कान्छीको कथासँग यसले मेल खाँदैन र यो फिल्म त्यसको सिक्वेल पनि होइन’ –निर्देशक आकाश अधिकारीले प्रष्ट पारे।

अहिलेको सन्दर्भमा फिल्म निर्माण गर्नुभन्दा प्रदर्शन गर्न गाह्रो भएको अनुभव पनि उनले सुनाए। अभिनेता नीर शाहले पहिलो फिल्म कान्छीमा अभिनय गर्न नपाएको दुःखद् पक्ष र यो फिल्ममा अभिनय गर्न पाउनु सुखद् पक्ष रहेको बताए। दयाहाङ राईको अभिनय गर्ने कलाको प्रशंसा गर्दै कलाकार शाहले भने– ‘यो फिल्ममा अभिनय गर्ने क्रममा मैले दयाहाङलाई नजिकैबाट नियाल्ने मौका पाएँ र मैले उसबाट धेरै कुरा सिकेको छु।’

नायिका तथा निर्मात्री श्वेता खड्काले फिल्म निर्माणका क्रममा सबैले मेहेनत गरेको र यो त्यसकै प्रतिफल भएको बताइन्। त्यसैगरी फिल्मका प्रमुख पात्र दयाहाङ राईले यो फिल्ममा अग्रज कलाकारहरूसँग काम गर्ने मौका पाएकाले निकै अविस्मरणीय हुने बताए। ‘यो फिल्ममा अभिनय गर्नुअघि मैले गीत छ कि छैन भनेर सोधेको थिएँ’ –उनले सुनाए। श्वेता खड्काले निर्माण गरेको फिल्ममा निर्देशन भने आकाश अधिकारीको रहेको छ।

आगामी माघ २६ गते प्रदर्शन मिति तोकिएको फिल्मका अन्य कलाकारमा आशान्त शर्मा, अनु शाह, प्रज्वल सुजल गिरी, जयनन्द लामा, नीर शाहलगायत छन्।

प्रतिक्रिया दिनुहोस्