उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै ः डीआईजी खनाल



नेपाल समाचारपत्र, भक्तपुर ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताउनुभएको छ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएकाले सबैले ट्राफिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको बताउनुभयो।

उहाँले समयको सीमा तोकेर सवारी सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो। उपत्यका महानगरपालिकाको अवधारणसँगै दिनमा मात्र नभएर रात्रिकालीन अवस्थामा समेत सवारी सञ्चालन हुने भएकाले यसको व्यवस्थापनका लागि ट्राफिकले मात्र चाहेर केही गर्न नसक्ने भएकाले सबैले सवारीसाधान ब्यवस्थापनबारे बेलमै दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। दुर्घटना बढ्नुका कारण सवारी साधनका कमजोरी र सवारी चालकको कमजोरीकै कारण धेरै जनधनको क्षति भएको तथ्यांकले बताएकाले सबैले यतातर्फ ध्यान दिन सके धनजनको क्षति कम हुने उहाँले बताउनुभयो।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको र यसतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ। दिनानुदिन सवारीको चाप बढ्नु तर सडकको उन्नोतरी गर्नेतर्फ ध्यान जान नसक्नु सवारी जामका साथै दुर्घटनाको कारक भएकाले समेत यतातर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले वातावरण प्रदूषण गर्ने सवारी साधानमा रोक लगाउनुपर्ने बताउनुभयो।

उहाँले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादकपदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडाइ गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्