कस्ताे बन्दैछ दीपक–दीपाकाे ‘छक्का पञ्जा ३’ ?



काठमाडौँ । दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा ३’ पनि निर्माण हुने भएको छ । छक पञ्जाले नेपाली सिनेमाको ईतिहासमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखेको छ । मल्टिप्लेक्समा सय दिन मनाउने पहिलो सिनेमा पनि ‘छक्का पञ्जा’ नै बनेको छ । पहिलो पटक निर्देशन गरेको सिनेमाको सफलता पछि दीपाश्रीले दोस्रो सिनेमा ‘छक्का पञ्जा २’ पनि निर्देशन गरिसकेकी छिन् । उनको दोस्रो निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा २’ ले आक्रामक व्यापार गरेको छ । रिलिज भएको १३ दिनमा सिनेमाले १२ करोड माथिको कारोबार गरिसकेको थियाे । एकातिर सिनेमा हेर्नेहरुको भिड छ भने अर्को तर्फ सिनेमा राम्रो छैन भनेर आलोचना गर्नेहरुको पनि कमी छैन । तर दर्शकले आफ्नो ब्राण्डमा देखाएको विश्वास र मायालाई आत्मसाथ गर्दै ‘छक्का पञ्जा’को टिमले ‘छक्का पञ्जा ३’ निर्माण गर्ने घोषणा गरेको छ । परिपक्व समिक्षक र दर्शकले देखाएका केही गल्तीहरुलाई स्वीकार गर्दै ती गल्तीहरुलाई भविष्यमा सुधार्ने भन्दै दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आधिकारिक रुपमै आफूहरु ‘छक्का पञ्जा ३’ को तयारीमा जुटेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्