नेपाल सानो देश भए तापनि एउटा सानो संसारको रुपमा मानिन्छ। नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा विभिन्न जातजातिहरुको बसोबास रहेको छ। जसरी यहाँका जातजातिमा विविधता पाइन्छ, त्यसरी नै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भौगर्भिक बनावटअनुसार यहाँको माटोमा पनि विविधता पाइन्छ। यहाँ अनेकौं किसिमको हावापानी भएकाले विभिन्न प्रकारका खाद्यपदार्थहरुको उत्पादन हुने गर्दछ। यहाँको हावापानी यस्तो छ कि बाहै्र महिना काम गर्न सकिन्छ। संसारका अनेकौं देशहरुमा जे–जति उत्पादन हुन्छ, थोर–बहुत यही भूभागमा उत्पादन हुने गर्दछ।

कैयौं नदी र सयौं खोला एवं झरनाहरुले गर्दा यस भूभागलाई प्रकृतिको देनको रुपमा लिइन्छ। नेपाल पानी नै पानीको देश पनि हो। नेपालको पानीलाई राम्ररी सिंचाइ र विद्युत् उत्पादनमा सदुपयोग गर्न सकियो भने नेपाल खाद्यान्नको भण्डार हुनसक्छ। नेपालको पानीबाट ८ करोड कि.वा.भन्दा बढी विद्युत् उत्पादन गरेर आफ्नो देश र छिमेकी देशहरुमा समेत ऊर्जा बढाउन सकिन्छ। जंगलै जंगलले सजिसजाउ नेपालभित्र अनेकौं किसिमका जनावर, ८ सयभन्दा बडी प्रकारका चराचुरुङ्गी र विश्वमा दुर्लभ मानिएका जडीबुटीहरु पाइन्छ। हरप्रकारले प्रकृतिले नेपाललाई साथ दिएको छ। कैयौं विदेशी यात्रीहरु भन्छन्, ‘यो ठाउँ संसारभरमा सबभन्दा सुन्दर स्थान हो।’

विश्वका हरेक कुनामा आप्रवासी नेपालीहरुको नेपालप्रतिको प्रेमको कारण, उच्च शिक्षा हासिल गर्न र कामको खोजीमा विश्वका हरेक राष्ट्रमा पुगेका नेपालीहरुले नेपालीपन कायम राख्न सकेकाले नेपाली राष्ट्रियताको मौलिकताले चौतर्फी पहिचान स्थापित गर्न सकेको छ। हाम्रो देश सानो भए पनि यहाँ धेरै थरीका जाति छौं। विभिन्न जातिहरुको साझा नेपालको सांस्कृतिक राष्ट्रियता बनेको छ। यहाँ हिन्दू, वैदिक र बौद्धको समष्टिबाट नेपाली संस्कृतिको सिर्जना भएको छ। सहिष्णुता, सभ्यता र संस्कृतिको हिसाबमा हाम्रो संस्कृति उत्कृष्ट छ। हामी संस्कृतिका धनी छौं। अनेकौं जातिहरु मिलेर एक साझा नेपाली जातिमा एकीकृत हुनसकेको नेपालको राष्ट्रियता टपक्क फूलेको छ, जसको कारणले नेपाली संस्कृतिको सुवास विश्वभरि फैलिएको छ।

हामी यहाँ पचासौं मातृभाषा बोल्छौं। यी सम्पूर्ण मातृभाषालाई जीवित राख्न अन्तरजातीय सम्पर्क भाषाको रुपमा नेपाली भाषा साझा भाषाको रुपमा स्थापित भएको छ। नेपाल हिन्दू राज्यको रुपमा विश्वव्यापी हुन गए तापनि धार्मिक मामलामा विश्वका धर्मनिरपेक्ष राष्ट्रहरुभन्दा नेपाल धेरै उदार छ। यही देशमा मुसलमान, क्रिश्चियन र अन्य धर्मावलम्बीहरु पनि आफ्ना धर्मकर्म मान्नमा स्वतन्त्र छन्।

नेपालको राष्ट्रियता भनेको एक भावनात्मक मान्यता मात्र होइन। यो एक क्रियात्मक मनोदशा हो। भूभागले मात्र राष्ट्रियताको प्रतिनिधित्व गर्दैन। नेपालको राष्ट्रियताको जग तथा आधारहरु के–के हुन्, त्यसको मूल्यांकन नगरी कसैलाई चित्त नबुझ्दैमा स्थापित मान्यताहरुलाई विस्थापित गर्न खोजिएमा राष्ट्रियतामाथि प्रश्नचिन्ह खडा हुनसक्छ। चाहे हिन्दू अधिराज्य होस् वा राजसंस्था वा नेपाली भाषा होस्, युगौंदेखि स्थापित भएका मान्यताहरुलाई विवादमा ल्याइयो भने नेपालीहरुको एकता टुट्न सक्छ। हामी नेपालीको राष्ट्र्यिता यति संवेदनशील छ कि हाम्रा स्थापित मान्यताहरुमा कुनै विवाद उठाउने काम भयो भने हाम्रो राष्ट्रिय एकतामा खतरा आउन सक्छ। त्यसैले हामीले राष्ट्रियताको विषयमा सधैँ सहिष्णु र संवेदनशील भएर मात्र बोल्ने हुनुपर्दछ।

नेपालको राष्ट्रियताको कडी भनेको चीन र भारत हो। यसमा पनि भारतसँग नेपालको सांस्कृतिक एवं धार्मिक पारस्पारिकताका कारणले सौहाद्र्रताको वातावरणमा बसेर राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता बचाएर राख्न सक्नुपर्दछ। नेपाल–भारतबीचको सौहाद्र्रतालाई कुठाराघात गराउन केही नेपाली र भारतीयहरु षड्यन्त्रमा संलग्न हुन पनि सक्छन्।

यस्ता षड्यन्त्रबाट सचेत हुन सक्नुपर्दछ। हुन त नेपाल एउटा भूपरिवेष्ठित राज्य हो। चीन र भारत दुई ठूला राष्ट्रको च्यापबाट जोगिएर नेपालले आफ्नो अस्तित्व कायम राख्नु छ। नेपालको राष्ट्रियता भनेको आफ्नो अस्मिता, स्रोत–सम्पदाहरु बचाएर, सन्तुलित भएर हिँडनु हो। हामी आफैं सक्षम र सजग नभई राष्ट्रियतालाई समृद्ध गराउन सकिँदैन। राष्ट्रियता भन्ने कुरा अर्कोले बचाइदिने होइन, आफैंले बचाउने कुरा हो। अर्कोले सहयोग दिन सक्छ तर बचाइदिँदैन। नेपाल अहिले गरिब छ। किनकि हामीले प्रकृतिले दिएका मौलिक स्रोत र सम्पदाहरुलाई योजनाबद्धरुपले परिचालन गर्न ढिला गरिरहेका छौं।

नेपाल र भारतको बीचमा हिन्दू देवस्थल, धामहरुको गरिमाले नेपाल–भारतका जनता एक–अर्कामा सम्मान गर्छन्। नेपाल कहिल्यै पनि पराधीन भएन। तिब्बतमा अवस्थित कैलास मानसरोवर विश्वका हिन्दूहरुको सम्मानित धाम हो। चीनमा नेपालका भृकुटी र अरनिकोका पदचिन्ह र बौद्धधर्मको उद्गम राष्ट्रको रुपमा नेपाल भएकाले नेपाली जनताको सार्वभौम स्वतन्त्रताको चीनले कदर गर्दै आएको छ। हामी नेपालीले पाएको जन्मजात स्वतन्त्रताको इज्जत र प्रतिष्ठालाई कायम गर्न सक्नु हाम्रो कर्तव्य हो। सम्पूर्ण हिन्दू संस्कृतिमा हिमालयलाई देवभूमि मानेको छ। भारतका हिन्दूहरुका लागि हिमालयको आकर्षण पशुपतिनाथ र मच्छिन्द्रनाथको दर्शन एउटा चीर आकांक्षा भई नै रहन्छ। नेपाललाई थाहा छ कि विश्वका प्रत्येक हिन्दू नेपाललाई स्वतन्त्र सार्वभौम हिन्दू राज्यको रुपमा हेरेर आनन्दित हुन्छन्। सम्पूर्ण हिन्दूहरुको लागि आश्रयस्थल बनी बाँच्ने प्रयत्न नेपालको रहिरहनेछ।

राष्ट्रियताप्रति मानिसहरुको झुकाव घट्दै गयो भने देशभित्र नैतिकताको ह्रास आउँछ, धर्म–संस्कृतिमा विवाद उठ्न थाल्छ, अराजकता बढ्छ। यहाँका राजनीतिक नेताहरु राष्ट्रियताप्रति संवेदनशील हुन नसकेकाले यहाँका प्राकृतिक र सांस्कृतिक पहिचानहरु विवादमा परेका छन्। हाम्रो कसैसँग भेदभाव छैन। राजनीतिक विवादका कारणले नेपाली राष्ट्रियता र पहिचानको चिरहरण हुनुहुन्न। सबै मित्र राष्ट्रसँग समान सम्बन्ध कायम गरी आपसी फुटभन्दा एकतामा आबद्ध हुनुपर्छ। हामी नेपाली देश–विदेश जहाँ भए पनि राष्ट्रियताको सवालमा एक हुनसकौं।
– सञ्जय भट्ट, काठमाडौं

LEAVE A REPLY