यौन दुव्र्यवहारको आरोपपछि बेलायती रक्षामन्त्रीको राजीनामा



 

लन्डन, (एजेन्सी)
यौन दुव्र्यवहारको आरोप लागेपछि बेलायतका रक्षामन्त्री सर माइकल फेलोनले राजीनामा दिएका छन्। राजीनामा दिने क्रममा उनले बेलायती सेनाको मापदण्डअनुसार उनको व्यवहार सही नभएको बताएका थिए। ‘१० वा १५ वर्षअगाडि जुन कुरा स्वीकार्य थिए, अहिले प्रस्ट रुपमा ती स्वीकार्य छैनन्।’ –उनले बीबीसीलाई बताए। संसद्मा गम्भीर यौन दुव्र्यवहारको आरोप लागेपछि राजीनामा दिने उनी पहिलो नेता हुन्। उनको पछिल्लो यौनजन्य दुव्र्यवहारको दाबी बुधबार मात्र आएको हो। तर यस विषयमा प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।

प्रधानमन्त्री टेरिजा मेले क्याबिनेटमा आफ्नो भूमिकालाई गम्भीरताका साथ लिएकोमा सर फेलोनको प्रशंसा गरेकी छिन्। आफ्नो राजीनामामा फेलोनले लेखेका छन्– ‘हालैका दिनमा जनप्रतिनिधिमाथि लगाइएका कयौं आरोपहरू बाहिर आएका छन्। तीमध्ये केही आरोप मेरा अतितका व्यवहारका बारेमा पनि छन्।’

उनले भने– ‘तीमध्ये अधिकांश गलत छन्, तर विगतका मेरा व्यवहार त्यस्तो रह्यो जुन सेनाको नेतृत्व गर्नका लागि आवश्यक मापदण्डअनुरुप छैन भन्ने म स्वीकार गर्छु।’

उनले आफ्नो राजीनामाको फैसला सही भएको बताए– ‘हालैका वर्षमा संस्कृतिमा धेरै परिवर्तन आएको छ। १० वा १५ वर्ष अगाडी जुन स्वीकार्य हुन सक्थ्यो, अब त्यो बिल्कुल स्वीकार्य छैन।’ उनले अब संसद्मा आत्ममन्थनको आवश्यकता भएको र प्रधानमन्त्रीले पनि व्यवहारमा सुधार गर्नु जरुरी भएको प्रस्ट पारे। कुनै प्रकारको उत्पीडनका आरोपहरूबाट वेस्टमिनिस्टका कर्मचारीहरूलाई स्वच्छ राख्नुपर्ने उनले थपे।

विगतका ती घटनालाई लिएर माफी माग्नुपर्छ कि भन्ने प्रश्नको जवाफमा उनले भने– ‘हामी सबैले विगतमा एकपटक फर्कनु पर्छ भन्ने मलाई लाग्छ। त्यस्तो केही न केही कुरा अर्थात् घटनाहरू भेटिन्छन्, जसमा हामीले अफसोच गर्नुपर्छ, सायद त्यसलाई हामीले फरक तरिकाले गरेको हुन सक्छ।’ तीन वर्षसम्म रक्षा मन्त्रीको पद सम्हाल्नु आफ्ना लागि सौभाग्यको कुरा भएको उनले बताए। प्रधानमन्त्री टेरिजा मेले उनको राजीनामा स्वीकार गरेकी छिन् र उनको कार्यकालको प्रशंसा गरेकी छिन्।

सर माइकल फेलोन विगत चार दशकदेखि लगातार सांसद रहे। सन् १९८३ मार्चमा उनी लेबोर पार्टीका एक उम्मेदवारसँग चुनाव हारेका थिए। तर मार्गरेट थ्याचरले पुनः आम निर्वाचनको घोषणा गरेकाले उनले ७७ दिनपछि नै चुनाव जितेका थिए। डेविड क्यामरुनको कार्यकालमा २०१४ मा पनि उनले रक्षामन्त्रीको पदभार सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्