मनोनयन दर्ता शान्तिपूर्ण



महिला उम्मेदवारको संख्या नगन्य
प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४७०८ जनाको उम्मेदवारी

सुनील महर्जन, काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फका लागि बिहीबार ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ।

आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)बाट प्राप्त विवरणअनुसार सो संख्यामा उम्मेदवारी परेको हो। ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रका लागि सो उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचन आउँदो मंसिर २१ गते हुनेछ।

आयोगका अनुसार प्रतिनिधिसभाका लागि १ हजार ७ सय ४२ र प्रदेशसभाका लागि २ हजार ९ सय ६६ जनाको उम्मेदवारी परेको हो। परेका उम्मेदवारीमध्ये महिलाको संख्या अत्यन्त न्यून रहेको आयोगले जनाएको छ।


शुरूमा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए। अपराह्नपछि राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारहरूले फूलमाला लगाएर बाजागाजाका साथ विजय उत्सवझैं कार्यकर्ता लिएर जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराएका थिए।

मनोनयन दर्ताका लागि बिहान १० देखि अपराह्न ५ बजेम्म समय तोकिएको थियो। ५ बजेभित्र प्रवेश गरेका उम्मेदवारले भने साँझसम्म पनि मनोनयन दर्ता गर्न पाउने व्यवस्था गरिएको थियो। एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सही छाप गरेको मनोनयनपत्रसहित प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयन दर्ता गराइएको थियो।

प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सासमेत मनोनयन–पत्रमा संलग्न गराउनुपर्ने कानुनी व्यवस्था छ। धरौटी रकमको हकमा प्रतिनिधिसभा सदस्यका लागि १० हजार रुपियाँ र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपियाँ निर्धारण गरिएको छ। महिला, दलित वा अल्पसङ््ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट गरिएको थियो।

यस पटकदेखि एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने प्रावधान लागू गरिएको छ। एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था रहेको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दिन नपाउने प्रावधान रहेको छ।

त्यस्तै, प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले भने मनोनयनपत्रका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गरेर मात्र उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो।
काठमाडौं उपत्यकाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवार र तिनका प्रस्तावक र समर्थकलाई मात्र भित्र छिर्न दिइएको थियो। आयोगले उम्मेदवार मनोनयन दर्ताको दिन सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गरेको थियो। उम्मेदवार मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्वक भएको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारको मनोनयन दर्ता कार्य शान्तिपूर्ण रहेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो। ‘यसबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनप्रतिको सबै किसिमका आशंका हटेको छ।’ –डा. यादवले भन्नुभयो।

अत्यन्त उत्साह र सौहार्द वातावरणमा उम्मेदवारको मनोनयन दर्ता भएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो। ‘यसबाट संघीय संसद् र प्रदेशसभाको निर्माण प्रक्रिया शुरू भएको छ।’ –उहाँले भन्नुभयो। उहाँले निर्वाचनको माहोल बन्दै गएको बताउँदै उम्मेदवारको मनोनयनसँगै जिल्लाजिल्लामा निर्वाचनको रौनकता छाउने धारणा राख्नुभयो।

आज शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

यसै गरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ। उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेपछि औपचारिकरूपमा चुनावी प्रचारप्रसारको अवधि शुरू हुनेछ।
दोस्रो चरणको निर्वाचन हुने जिल्लाहरूमा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन्।
त्यस्तै, प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत, प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी जिल्लामा हिजो उम्मेदवारी मनोनयन दर्ता गराइएको थियो।
दोस्रो चरणको निर्वाचनमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ जना मतदाता रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्