जापानको एक अपार्टमेन्टमा नौवटा लाश



 

टोक्यो, (एजेन्सी)
जापानी प्रहरीले राजधानी टोकयोनजिकको जामा रहेको एउटा अपार्टमेन्टमा नौवटा लाशका अंगहरु भेटिएपछि सो अपार्टमेन्ट मालिकलाई पक्राउ गरेको छ। प्रहरीले एक जना हराइरहेकी महिलाबारे अनुसन्धान गर्दै जाँदा ताकाहिरो सिराइसी नामक ती आशंकित पुरुषको घरबाहिरको कोल्ड स्टोरेजमा दुईवटा काटिएका टाउको फेला पारेको थियो।

साथै प्रहरीले ती व्यक्तिको घरभित्र चिस्याउने बाकसमा अन्य सात जना व्यक्तिको लाशका टुक्राटाक्री फेला पारेको छ। २७ वर्षीय ताकाहिरोलाई लाश टुक्राएर फाल्ने योजना बनाएको आशंकामा गिरफ्तार गरिएको छ।

जापानी अखबार माइनिची सिम्वुनका अनुसार प्रहरीले आठ जना महिला र एकजना पुरुषको लाश फेलापारेको र तीमध्ये केही लाश कुहिन थालेको जनाएको छ। ताकाहिराले नौ जनालाई हत्या गरेर तिनीहरुको लाश लुकाउने प्रयास गरेको स्विकारेको महानगर प्रहरी विभागलाई उद्धृत गर्दै एनएचके टेलिभिजनले जनाएको छ।

यसैबीच उनका एक जना छिमेकीले गत अगस्टदेखि त्यहाँ बस्न थालेका ताकाहिरोको सो अपार्टमेन्टबाट असहनीय गन्ध आउन थालेको एनएचके र आसाही सिम्बुनलाई बताएका छन्। प्रहरीले गत २१ अक्टोबरदेखि हराइरहेकी २३ वर्षीया महिलाको खोजी गर्ने क्रममा ती लाश भेटाएको हो।

अनुसन्धानकर्ताहरुले ती महिलाको ताकाहिरोसँग सम्बन्ध रहेको र उनले अनलाइनमा आफूले आत्महत्या गर्न चाहेको लेखेको पत्ता लगाएको छ। एकजना ४१ वर्षीय स्थानीय वासिन्दाले नजिकै एउटा दिवा स्याहार केन्द्र रहेको यस आवासीय शान्त क्षेत्रमा यसरी लाश फेला पर्ला भनेर कल्पना पनि गर्न नसकेको माइनिची सिम्बुन अखबारलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्