यसरी मन जित्यो ऐश्वर्यले



पुष्करलाल श्रेष्ठ

लामो समयपछि मंगलबार एउटा राम्रो र स्तरीय नेपाली चलचित्र हेर्ने अवसर पाइयो। चलचित्र शुरू हुने समय साँझ ४ बजे भनिएकाले सो समय अलि अपायक भए पनि चलचित्र ऐश्वर्यका बारे धेरै चर्चा सुनिसकेकाले व्यस्तताका बाबजुद सुन्धाराको सीटीसी मलस्थित सिने डाइन सिनेमा हलमा पुगेको थिएँ। यस चलचित्रका सहनिर्माता तथा चर्चित कलाकार निर्मल शर्माले टेलिफोनमा नेपाली सिने क्षेत्रका विशिष्ट व्यक्तिहरुका लागि मात्र राखिएको विशेष शो भन्नुभएको हुनाले समीक्षा गर्ने सोचले भन्दा पनि मनोरञ्जनको मनस्थितिले मात्र सिनेमा हल पुगेको थिएँ। तर, पूरै चलचित्र हेरेपछि कापीकलम बोकेर नगएकोमा साह्रै थकथक लाग्यो।

कुन बेला चलचित्र सकियो, चालै पाउन सकिनँ। घरको डेकमा अथवा युट्युबमा हेरेजस्तो रिवाइन्ड गरिदिनु भन्ने कुरा पनि आएन। चलचित्र हेरेर निस्किएपछि प्रतिक्रिया लिन बाहिर बसिरहनुभएका निर्माता एवं कलाकारहरू रमेश उप्रेती, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं आदिलाई स्तरीय चलचित्र बनाउनुभएकोमा बधाई दिनुबाहेक अरू केही गर्न सकिएन। त्यसो त विभिन्न टेलिभिजन, पत्रपत्रिका र अनलाइनहरूलाई चलचित्र हेरेर हलबाट निस्केका कलाकर्मी, उद्यमी, कानुनविद्, पत्रकारलगायत सबै क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले चलचित्र ऐश्वर्यको मुक्तकण्ठले प्रशंसा गरिरहेको सुनिन्थ्यो।

केही वर्षदेखि नेपालमा पनि निकै उत्कृष्ट नेपाली चलचित्रहरू बन्न थालेका छन्। राम्ररी बनेका चलचित्रहरूले व्यावसायिकरूपमा पनि निकै आर्थिक आर्जन गरिरहेको पाइएको छ। उदाहरणका लागि यही ऐश्वर्य चलचित्रले प्रदर्शनको दुई दिनभित्रै २ करोड रुपियाँको व्यापार गरेको छ भने जुन मेहनतले यो चलचित्रको निर्माण गरिएको छ, त्यसलाई हेर्दा आर्थिकरूपमा पनि यसको भविष्य निकै उज्ज्वल हुने देखेको छु।

माथि भनिसकेकै छु, समीक्षात्मक हिसाबले चलचित्र नहेरिएका कारण यहाँ मैले चलचित्रको समीक्षा गर्न खोजिरहेको छैन। तर, दिवाकर भट्टराईको कथामा निकै गृहकार्य गरी बनाइएको जस्तो लाग्ने यो चलचित्र हेरिसकेपछि कुनै पनि दर्शक ‘छिः’ भन्दै सिनेमा हलबाट बाहिर निस्केलाजस्तो लाग्दैन। कथाअनुसारको पटकथा, प्रयोग गरिएका भाषा, क्यामरामा कैद चित्ताकर्षक प्राकृतिक दृश्यहरू, लोभलाग्दो संवाद, उत्कृष्ट अभिनय, फोटोग्राफी, सम्पादन, द्वन्द्व, प्रकाश संयोजन, संगीत आदि हेर्दा चलचित्रका निर्माण पक्षले कतै पनि सम्झौता गरेको पाइँदैन। प्रशान्त ताम्राकार र दीपिका प्रसाईंको बेजोड अभिनय हेर्दा उनीहरूलाई कसैले पनि नवप्रवेशी कलाकार भन्दैनन्। नायिका केकी अधिकारीको प्रभावशाली अभिनय हेर्दा विगतमा उनले त्यत्तिकै सर्वश्रेष्ठ अभिनेत्रीका अवार्डहरू जितेकी रहिनछिन् भन्ने सावित गराउँछ। अभिनेता रमेश उप्रेतीको अभिनय पनि निकै दमदार लाग्छ। छोटो भूमिका भए पनि कलाकार अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि दर्शकको मन जित्न सफल देखिएका छन्।

यस चलचित्रको अर्को सकारात्मक पक्ष भनेको यसले नेपाली सिनेमा उद्योगलाई प्रशान्त ताम्राकार र दीपिका प्रसाईंजस्ता दुई होनहार प्रतिभाशाली कलाकार दिएको छ भने रमेश उप्रेतीलाई उत्कृष्ट पुनरागमन गराएको छ।

ऐश्वर्य अर्थात् सम्पत्तिका लागि मानिसहरू कुन हदसम्म तल झरेर सीमा नाघ्न सक्छन् भन्ने अहिले हाम्रो नेपाली समाजमा देखिरहेको विकृतिलाई फिल्मी शैलीको सबै मसला मिसाएर पस्केका कारण पनि यो चलचित्रले सबै उमेरका दर्शकको मन जित्न सफल भएको जस्तो लाग्छ। यसका लागि चलचित्रका निर्देशक दिवाकर भट्टराई बधाईका पात्र हुनुहुन्छ। यो चलचित्र निकै सन्देशमूलक छ, गम्भीर छ, पारिवारिक छ, यसले नेपाली चलचित्रमा एउटा इतिहास बनाएको छ भन्न खोजिएको होइन। समीक्षाको दृष्टिले हेरिएका भए केही कमीकमजोरी पनि खोजिन्थ्यो होला। कुरा यतिमात्र हो कि वर्षको झण्डै सयको हाराहारीमा नेपाली चलचित्र बन्न थाले पनि मुस्किलले पाँचवटा पनि गुणस्तरीय चलचित्र हेर्न नपाइरहेको अवस्थामा दर्शकलाई यो चलचित्र हेरेपछि एउटा ‘कम्प्लिट’ चलचित्र हेरेको महसुसचाहिँ अवश्य गराउँछ।

प्रतिक्रिया दिनुहोस्