उम्मेदवारको मनोनयन आज



नेपाल समाचारपत्र
काठमाडौं
मंसिर १० गते हुने प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फका लागि आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ।

निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले बुधबार पत्रकार भेटघाटको आयोजना गरी बिहान १० देखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको छ।

४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले आज बिहीबार मनोनयन दर्ता गर्नेछन्। ‘पहिलो चरणमाझैं दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार मनोनयन शान्तिपूर्ण र उत्साहजनक हुने विश्वास लिएको छु।’ –प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भन्नुभयो।

आयोगले उम्मेदवार मनोनयन दर्ताको दिन सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गरेको छ। ‘राजनीतिक दलका पार्टी प्रमुख तथा उच्च पदाधिकारीले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारी मनोनयन गर्नेछन्। त्यसैअनुसारको उच्च सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिन चाहन्छु।’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।
त्यसै गरी आयोगले सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीहरूले मनोनयन दर्ता कार्यक्रमलाई व्यवस्थित, मर्यादित र भयरहित ढंगले अघि बढाउन पनि आयोगले निर्देशन दिएको छ।

वाम गठबन्धनको चुनावी घोषणा–पत्र मनोनयनपछि
काठमाडौं, (नेस)
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयन दर्ता गरेपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

गठबन्धनले चुनावी घोषणापत्र तयार गरे पनि निर्वाचन क्षेत्र बाँडफाँडमा बढी समय खर्चिनुपरेका कारण मनोनयन दर्तापछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको हो।

गठबन्धनका तर्फबाट गठित चुनावी घोषणापत्र तयार गर्ने कार्यदलले घोषणापत्र तयार गरेर एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरिसकेको छ। ओली र प्रचण्डको कार्यव्यस्तताका कारण उम्मेदवारी मनोनयन दर्ताअघि नै सार्वजनिक हुन नसकेको बताइएको छ।

वाम गठबन्धनले तयार पारेको चुनावी घोषणापत्रमा ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रको समृद्धि’को विषयलाई नै मुख्य एजेन्डा बनाइएको कार्यदलमा सहभागी माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल आहुतिले बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘चुनावी घोषणापत्र तयार भएको छ, ६० देखि ७० पृष्ठको घोषणापत्र एक साताभित्र सार्वजनिक हुन्छ।’

वाम गठबन्धनले बुधबार चुनावी घोषणपत्र सार्वजनिक गर्ने पूर्वतयारी भए पनि दुवै पार्टीका शीर्ष नेताहरू पार्टीभित्रको उम्मेदवारी टुंगो लगाउन व्यस्त भएका कारण हुन नसकेको बताइएको छ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०⁄४० को भागवण्डा गरेका एमाले र माओवादी केन्द्रले निर्वाचन क्षेत्र बाँडफाँडमा सहमति गरिसकेका छन्। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार उम्मेदवार मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ।

उम्मेदवारी दर्ता गर्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार नै चितवन लाग्नुभएको छ। प्रचण्डले प्रतिनिधिसभाका लागि चितवन–३ बाट उम्मेदवारी दिनुहुने भएको छ।
घोषणपत्र कार्यदलमा एमालेको तर्फबाट उपाध्यक्ष वामदेव गौतम र भीम रावल, माओवादी केन्द्रको तर्फबाट नेता नारायणकाजी श्रेष्ठ देव गुरुङ र विश्वभक्त दुलाल ‘आहुति’ रहनुभएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ। तर एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले भने निर्वाचनका लागि तयार पारेको घोषणापत्र मनोनयन दर्तापछि मात्र सार्वजनिक गर्ने भएका छन्। राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपालगायतका दलहरूले पनि चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन्

प्रतिक्रिया दिनुहोस्