राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै कालिकोट



 

कालिबहादुर मल्ल, कालिकोट
विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुगेको विकट कालिकोटमा विद्युत् केन्द्रीय प्रसारण लाइन पुग्ने भएको छ। तत्कालीन ऊर्जामन्त्री हाल बिनाविभागियमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा कर्णाली क्षेत्रमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि कैलालीको लम्कीदेखि कालिकोटको रेगिलघाटमा ४ सय केभी प्रसारण लाइनको डीपीआर निर्माण हुन लागेको हो।

कर्णाली करिडोरअन्तर्गत ४ सय केभी प्रसारण लाइनको डीपीआर निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले कालिकोटको खाँडाचक्र नगरपालिका–११ को रेगिलघाटमा जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरेको छ। नेपाल सरकारको स्वामित्व भएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडद्वारा निर्माणका लागि प्रस्तावित ४००।१३२ केबी सव स्टेसन निर्माणका लागि १ सय २० जनाको ३ हजार ९ सय ९० वर्गमिटर जग्गा अधिग्रहण गरी मुआब्जा वितरणका लागि सूचना प्रकाशित गरिएको छ। ५ वर्षभित्र निर्माणकार्य पूरा गरी सक्ने लक्ष्यसहित अगाडि बढाइएको कर्णाली करिडोर विद्युत् प्रसारण लाइनको सव स्टेसन तयार गर्न लागेको हो।

विद्युत् नपुगेको कर्णालीमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोड्ने तयारीका साथ यो काम अगाडि बढाइएको बिनाविभागीयमन्त्री शाहीले बताए। उनले भने– ‘कर्णाली बेसिनमा उत्पादन हुने विद्युत् यसै ग्रिडमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ।’
कर्णाली बेसिनमा उत्पादन हुने तिला–१ र २, फुकोट कर्णालीलगायतका जलविद्युत आयोजनाहरू यसै ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको मन्त्री शाहीको भनाइ रहेको छ। ‘तिला–१ र २, फुकोट कर्णाली जलविद्युत् आयोजनाहरू बन्दै छन्’, उनले भने– ‘ती आयोजनाहरूबाट उत्पादन हुने विद्युत्लाई यसै प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न तयारी भइरहेको छ।’

तत्कालका लागि कर्णालीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जोड्नका लागि दैलेखबाट ३३ केभी प्रसारण लाइनलाई जोडेर कालिकोटको खाँडाचक्र नगरपालिका एउटा ग्रिड राखिने र रास्कोट नगरपालिकाका अर्को ग्रिड राख्ने तयारी पूरा भएको मन्त्री शाहीले बताए। ‘तत्काल जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने विद्युत्का लागि दैलेखबाट ३३ केभी विद्युत् प्रसारण लाइन जोडिनेछ’, उनले भने– ‘त्यसैमार्फत कालिकोटमा विद्युतीकरण गर्ने तयारी गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्