१२ करोड ६० लाख अमेरिकीसमक्ष रुसी पोस्ट पुगेः फेसबुक



 

वासिङटन, (एजेन्सी)
फेसबुकले विगत दुई वर्षमा रुसका प्रयोगकर्ताको तर्फबाट गरिएका पोस्ट सामग्री १२ करोड ६० लाख अमेरिकीसमक्ष पुगेको जनाएको छ।

उक्त सामाजिक सन्जाल साइटका अनुसार सन् २०१६ का राष्ट्रपति चुनावअगाडि र पछि यस प्रकारको ८० हजार पोस्ट जारी भए। त्यसमा अधिकांश पोस्ट विभाजनकारी सामाजिक तथा राजनीतिक सन्देशहरू थिए। लोकप्रिय वेबसाइटहरूमा रुसले कति प्रभाव पारेको छ भन्ने विषयमा सिनेटमा सुनवाइ हुन लागेको बेला फेसबुकले उक्त आँकडा जारी गरेको हो। पछिल्लो राष्ट्रपति चुनावमा रुसले सामाजिक संजाल तथा ह्याकरमार्फत् प्रभावित पारेको आरोप लागेको थियो।
डोनाल्ड ट्रम्पले जितेको र हिलारी क्लिन्टनले हारेको उक्त चुनावलाई प्रभावित पार्ने प्रयास गरेको आरोपलाई रुसले लगातार अस्विकार गर्दै आइरहेको छ। फेसको उक्त ताजा आँकडालाई समाचार एजेन्सी रोयटर्स र वासिङटन पोस्ट अखबारले गरेका छन्। आँकडामा सन् २०१५ जुनदेखि सन् २०१७ अगस्टको बीचमा ८० हजार पोस्ट प्रकाशित भएका थिए।

ती पोस्ट क्रेमलिनसँग सम्बन्ध राख्ने रुसी कम्पनीले राखेको फेसबुकले जनाएको छ। फेसबुकका प्रतिनिधि कोलिन स्ट्रेचले भने– ‘यो कारबाही फेसबुकलाई कम्युनिटी बनाउने अभियानको विरोधमा गरिएको थियो। हामी यो नयाँ खतरासँग लड्न प्रतिबद्ध छौं।’ सोमबार गुगलले पनि रुसी ट्रोल्सले १८ फरक–फरक च्यानलमा १ हजार भिडियो अपलोड गरेको जानकारी दिएको वासिङटन पोस्टले जनाएको छ। यस बीच ट्विटरले रुसको इन्टरनेट रिसर्च एजेन्सीसँग सम्बन्ध रहेको आशंका गरिएका सबै संदिग्ध २ हजार ७ सय ५२ अकाउन्टलाई निलम्बित गरेको रोयटर्सले जनाएको छ।

संघीय जाँच देशका लागि खराब
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनाव र उनका सहयोगीहरूको रुससँगको सम्बन्धलाई लिएर संघीय छानबिन ‘देशका लागि खराब’ र त्यो ‘खराब राजनीतिका लागि बोक्सीको खोजी’ भएको बताएका छन्। उनले जारी रहेको छानबिनमा हिलारी क्लिन्टनलाई पनि तान्नमा रिपब्लिकनहरू एकजुट हुनेमा पनि जोड दिए।

आफूले क्लिन्टनबाट नक्कली फाइल बनाएको, रुससँग युरेनियमको सम्झौता, ३३ हजार इमेल डिलिट गरेको र अन्य कयौं मुद्दा उठाएपछि रिपब्लिकनहरूमा देखिएको आक्रोस र एकता यसअघि कहिल्यै नदेखेको ट्रम्पले ट्विट गरेका छन्। यसअघि ट्रम्पको चुनाव अभियानमा जिम्मेवारी सम्हालेका पल म्यानफोर्ट विरुद्ध राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपसँग जोडिएको मामिलामा जाँच हुने बताइएको थियो।

पल र उनका सहयोग रिक गेट्समाथि १२ विभिन्न आरोप लगाइएको छ। यसमा षड्यन्त्र रचेको र पैसाको अपचलन गरेको आरोप गर्छन्। पल र उनका सहयोग गेट्स बयान दिनका लागि वासिङटनस्थित एफबीआई कार्यालय पुगेका थिए। ती दुई विरुद्ध युक्रेनका रुसी राजनेताहरूसँग सन् २००६ देखि २०१५ को बीचमा सम्पर्क राखेको सम्बन्धमा सोधपुछ गरिरहेको जनाइएको छ। पल र गेट्समाथि युक्रेनका पूर्वराष्ट्रपति भिक्टर यानुकाबीच र उनका पार्टीको अनाधिकृत एजेन्टको भूमिका निभाएको आरोप लगाइएको छ।

यानुकोबीच रुस समर्थित नीति लागू गर्ने क्रममा सन् २०१४ मा युक्रेनको राष्ट्रपति पदबाट अपदस्थ हुनुपरेको थियो। पल म्यानाफोर्टमाथि विदेशी खाताको प्रयोग गरी १ करोड ८० लाख डलर स्थानान्तरण गरेको आरोप पनि लागेको छ। ती पैसाको प्रयोग सम्पत्ति खरिद र अन्य सुविधामा गरेका थिए। उनले यसलाई अमेरिकी अधिकारीहरूबाट लुकाएको थियो। उनले विदेशी सम्पत्तिको आडमा अमेरिकामा विलाशी जीवन बिताइरहेको बताइएको छ।

यस मामिलामा विशेष अधिवक्ता रोबर्ट म्युलरको नेतृत्वमा ट्रम्पको चुनाव अभियानसँग रुसको सम्बन्धको जाँच गरिरहेका छन्। म्युलरको टोली लामो र गम्भिर सोधपुछका लागि चर्चित छ। यो टोलीले अहिलेसम्म ह्वाइट हाउसका कयौं अधिकारीहरूसँग सोधपुछ गरिसकेका छन्। म्यानाफोर्ट सन् १९७६ मा गेराल्ड फोर्डको समयदेखि नै कयौं रिपब्लिकन राष्ट्रपति उम्मेदवारका चुनाव अभियानमा आबद्ध रहँदै आएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकाल शुरू गरेदेखि नै आफ्नो टोली र रुसी अधिकारीहरू बीचको साँठगाँठको आरोप खेपिरहेका छन्। अमेरिकी छानबिन टोलीले रुसी साइबर ह्याकरले अमेरिकी चुनाव प्रक्रियालाई प्रभावित पारेको र त्यसबाट ट्रम्पलाई जिताएको विषयमा सत्य कुरा पत्ता लगाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्