हरिबोधनी एकादशीमा त्रिखण्डीमा मेला



 

नेपाल समाचारपत्र
हेटौंडा
हरिबोधनी एकादशीका अवसरमा मकवानपुरको भैंसे त्रिखण्डीमा भव्य मेला लागेको छ। मंगलबार बिहानैबाट त्रिखण्डीमा भव्य मेला लागेको हो। त्रिखण्डी मन्दिरमा पूजा गर्न आउनेहरूको भीड दिउँसो थेगिसक्नु थिएन।

मकवानपुरगढी गाउँपालिकाको वंशगोपालमा पनि ठूलै मेला लागेको छ। यहाँ पनि मेला भर्न आउनेहरूको पनि दिनभरजसो भीड लाग्यो।

हरिबोधनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझने भएकाले यसलाई हरिबोधनी वा प्रवोधिनी एकादशी भन्ने गरिएको हो।

हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म ४ महिना विष्णुभक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो। तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गरिन्छ।

प्रतिक्रिया दिनुहोस्