जेल जाने पालो अब कसको ?



 

विधिको शासनलगायत राज्यका सबै मान्यता र लोकतन्त्रको मूल्यलाई चुनौती दिँदै खुला घुमिरहेका कर्तव्य ज्यान मुद्दाका कसुरदार बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेर जेल हाल्न सफल भएको छ। माओवादी नेता ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाए पनि राजनीतिक संरक्षणका कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन। उल्टै ढुंगेलले कहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेको, कहिले ‘सार्वजनिक अभिनन्दन’ ग्रहण गरेको समाचार आइरहेका थिए। हुँदा–हुँदा उनका विरुद्ध फैसला गर्ने न्यायाधीशलाई लक्षित गरेर अपशब्द बोल्ने र धम्की दिने गर्न थालेको पनि सार्वजनिक भएको थियो।

द्वन्द्वकालको मुद्दा भनेर हत्यारा बचाउनतिर लाग्ने सरकारलाई अदालतले दिएको यो फैसलाले गतिलो झापड दिएको छ। मेरो विचारमा नेपालमा अदालतलाई बलियो र निष्पक्ष बनाउन जरुरी छ। सेटिङमा चलाउँदा अदालतको दुरुपयोग भएको छ। यसलाई रोक्न सबै लाग्नु जरुरी छ। आफू अनुकूल न्यायाधीश नियुक्त गरेर गलत निर्णय र फैसला गराउनुहुँदैन। कानुन सबैलाई समान हुनु जरुरी छ। माओवादीले हत्या गरेकाहरुको विषयमा छानबिन गरेर दोषीलाई जेल हाल्न सके मात्रै विधिको शासन भएको प्रस्ट हुन्छ। चाहे प्रचण्ड, चाहे बाबुराम, चाहे जो कुनै वा प्रम नै किन नहुन्, कानुन मिच्ने र अपराध गर्नेलाई छाड्नुहुँदैन। अब पालो उनीहरुको हो।
–सुधिर चलाउने, काठमाडौं

चुनाव अपरिहार्य
नेपाली राष्ट्रियताविरुद्ध चक्रव्यूह रचिएको छ। कुनै न कुनै बहानामा नेपाली राष्ट्रियतालाई कमजोर बनाउन एकपछि अर्को षड्यन्त्र भइरहेको देखिएको छ। स्थानीय तहको संख्या र सीमा निर्धारण, संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई देशविरुद्ध चक्रव्यूह रच्ने आधार बनाइएको थियो। अहिले प्रदेश र संघको निर्वाचन रोक्ने षड्यन्त्र हुँदै छ। सबैभन्दा दुःखद विडम्बना, चक्रव्यूहमा नेपाली जनताले विश्वास गरेर नेतृत्व सुम्पेका राजनीतिक दलका नेताहरु नै गोटी बनेका छन्।

स्थानीय तहको पनि मधेसी मोर्चाका नेताले संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई नजोडेका भए पनि निर्वाचन एकै चरणमा हुनेथियो। बजेट प्रस्तुत गर्ने मितिभन्दा पहिले मतदान हुने गरी दोस्रो चरणको निर्वाचन कार्यक्रम तय गरिएको भए पनि संवैधानिक जटिलता उत्पन्न हुने थिएन। तर, यति सबै थाहा हुँदाहुँदै सरकारले निरन्तर गलत र राष्ट्रियताको अहित गर्ने निर्णय गरिरह्यो। नेपाली राष्ट्रियताविरुद्ध रचिएको चक्रव्यूह लामो समय टिक्न दिइयो भने अकल्पनीय क्षति हुनेछ। पछि पछुताएर बिग्रेको काम सपार्न र बितेको समय फर्काउन सकिनेछैन। यसैले नेपालका प्रमुख राजनीतिक दलहरु विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेका नेताले राष्ट्रप्रतिको कर्तव्य सम्झेर आवश्यक भएमा अभिमन्यु बनेर पनि राष्ट्रियताविरुद्धको चक्रव्यूह भेदन गर्न अग्रसर हुनुपर्छ।

सत्ता र प्रतिपक्षमा जता बसे पनि राष्ट्रियता र लोकतन्त्र जोगाउन कांग्रेस र एमालेबीच सहकार्य हुनै पर्छ। खासगरी स्थानीय तहको निर्वाचन र संविधान संशोधन तथा मधेसी मोर्चाका राष्ट्रियता एवं लोकतन्त्रविरोधी हठको उचित व्यवस्थापन कांग्रेस र एमालेबीच सहकार्यविना सम्भव छैन। राष्ट्रिय राजनीतिमा यी दुई गठबन्धनलाई आजको घडीमा कसैले पनि पन्छाउन सक्तैन। एमाले, माओवादी एकता भएर वामपन्थी र प्रजातान्त्रिक शक्ति मात्रै भए नेपालमा पुग्छ। तथानाम दल अब चाहिँदैन। एक–अर्कासँगको प्रतिस्पर्धा मात्र सम्झेर बृहत्तर राष्ट्रिय हितमा पनि एकै ठाउँमा उभिन नसक्ने हो भने इतिहासले मात्र हैन जनताले समेत कुनै पनि दल र नेतालाई छाड्दैनन्। प्रदेश र संघको चुनाव भयरहित वातावरणमा बनाएर नेपालको संविधान कार्यान्वयनतिर सबै लाग्नु जरुरी छ।
– सुशान्त आले, स्याङ्जा

प्रदूषण बढी भयो
काठमाडौंमा वायु प्रदूषणका अनेक कारणहरु छन्। राजधानीमा अत्यन्त प्राणघातक बनिसकेको वायु प्रदूषणको प्रमुख कारण सडकको धूलो र सवारीसाधनबाट निस्कने धुवाँको मुस्लो नै हो। गएका दुई दशकमा राजधानी उपत्यकामा सवारीसाधनको सख्ंया तीन गुणा बढेको छ भने जनसंख्या पनि उही अनुपातमा वृद्धि भएको छ। तिनले निष्कासन गर्ने फोहोरमैला पनि बढेकै छ। उति बेलाको तुलनामा सडक बढेको मात्र होइन सडकको अवस्था थप गएगुज्रिएको छ। त्यसबाहेक धुवाँ–धूलो निष्कासन गर्ने इँटाभट्टा, कलकारखाना, दाउरा बालेर निस्कने धुवाँको मात्रा पनि बढेको छ भने फोहोरमैला तह लगाउन बालिने आगोबाट समेत प्रदूषण झनै बढ्दो छ।

बढ्दो सवारीसाधनले निष्कासन गर्ने धुँवाको स्तरको नियमित अनुगमन र ठाउँ–ठाउँमा राखिएका प्रदूषण मापन यन्त्रको नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता छ भने भुइँचालोपछि पुनर्निर्माणको क्रममा रहेका इँटाभट्टाहरुको अनुगमन गरी कम प्रदूषण हुने प्रविधि जडान गर्न बाध्यकारी नियमको जरुरी छ। जथाभावी संचालनमा रहेका साना सार्वजनिक सवारीलाई विस्थापन गरेर दर्जनौंले एकैपल्ट प्रयोग गर्न सकिने ठूला बसहरुको सञ्चालन पनि अहिलेको आवश्यकता हो। वायु प्रदूषणमा नेपालले कायम गरेको रेकर्ड सजिलै मेटाउन सकिँदैन। यसका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु जरुरी छ। अगाडि बढेको कागजपत्र बनाएर होइन, यसमा इमानदारीको पनि उत्तिकै आवश्यकता देखिन्छ। सरकारको नेतृत्वमा बस्नेहरुले बेला–बेलामा बाँड्ने गरेको मेट्रो रेलको आश्वासनभन्दा पनि भएका साधनहरुको सही उपयोगले राजधानी काठमाडौंको वायु प्रदूषण कम गर्न सकिन्छ।
– नयन बुढाथोकी, बालाजु, काठमाडौं

प्रतिक्रिया दिनुहोस्