कांग्रेसको घोषणापत्र सार्वजनिक, वाम गठबन्धनको डटेर सामना गर्ने निर्णय



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै वाम गठबन्धनको डटेर सामना गर्ने उद्घोष गरेको छ। मधेसकेन्द्रित दल, राप्रपा (प्रजातान्त्रिक) र राप्रपालगायतका दलसँग विश्वसनीय सहकार्य गर्ने जनाएको कांग्रेसले एमाले र माओवादी केन्द्रको गठबन्धनले मुलुकमा साम्यवादी शासन ल्याउन खोजेको आरोप लगाएको छ।

संविधानमा प्रत्याभूत गरेको संघीय समावेशी लोकतन्त्रका आधारभूत संरचना र अधिकार भत्काउने र अपहरित गर्ने उद्देश्यका साथ आगामी निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रलगायत कम्युनिस्टले गठबन्धन गरेको भन्दै कांग्रेसले यो गठबन्धनले लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने कुचेष्टा गरेको आरोप पनि लगाएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा मधेसकेन्द्रित दल, राप्रपा (प्रजातान्त्रिक) र राप्रपालगायतका दलसँग भने विश्वसनीय सहकार्य गर्ने उल्लेख गरिएको छ। ‘कम्युनिस्टहरूको गठबन्धनप्रति आक्रमकरूपमा प्रस्तुत भएको कांग्रेसले घोषणापत्रमा एमाले र माओवादी केन्द्रको घोषित उद्देश्य कम्युनिस्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने ठम्याइएको छ।

‘एक दलीय कम्युनिस्ट शासनको सपना र प्रयोगले धेरै मुलुकमा स्वाधीनता, स्वतन्त्रता र समृद्धि गुमेको छ’, घोषणापत्रमा भनिएको छ– ‘पहिलोपटक नेपाललाई पनि यस्तो जोखिमतर्फ धकेल्ने कुचेष्टा वर्तमान कम्युनिस्ट गठबन्धनले गरेको छ।’ घोषणपत्रमा नेकपा एमालेलाई राष्ट्रिय एकता र समृद्धिको बाधक तथा नेकपा माओवादी केन्द्रलाई अस्थिर राजनीतिको लाभ लिने अवसरवादीको संज्ञा दिँदै छुट्टाछुट्टै आरोप पनि लगाइएको छ।

समसामयिक राजनीतिका बारेमा बोल्दै कांग्रेसले नेकपा एमाले र माओवादी केन्द्रलाई सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको भन्दै पनि चुनावी घोषणापत्रमा उल्लेख गरेको छ। ‘नेकपा एमालेले राजनीतिक पार्टीको चरित्र गुमाउँदै आफ्ना लेबी बुझाउने सक्रिय नेता र कार्यकर्ताका भ्रातृ संगठनको माध्यमबाट अस्पताल, मेडिकल कलेज, एनजीओ सञ्चालन, सहकारी संस्था, उद्योग, जलविद्युत्, आवास र बैंकिङ क्षेत्रमा लगानी र स्वार्थ भएको व्यावसायिक घरानाको भूमिकामा आफूलाई परिवर्तन गरेको छ’, घोषणापत्रमा भनिएको छ– ‘चिकित्सा शिक्षा विधेयक २०७४ लाई एमाले र माओवादी केन्द्रले पारित गर्न नदिनु यसको पछिल्लो उदाहरण हो।’
राजनीतिक दलहरूले सत्ताका निम्ति मात्र दलीय प्रतिस्पर्धा गर्नुको साटो लोकतन्त्र र आर्थिक समृद्धिको मुद्दालाई केन्द्र भागमा राखेर राजनीतिक सहकार्य गर्ने तत्परता देखाउनु जरुरी भएको भन्दै कांग्रेसले राष्ट्रिय राजनीतिमा पुनः उठ्न थालेको अतिवादी र एक दलीय कम्युनिस्ट वर्चस्वको शासनको सोच र प्रवृत्ति राष्ट्र र लोकतन्त्रका लागि जोखिमपूर्ण हुने जनाएको छ।

कांग्रेसले चुनावी घोषणापत्रमा राष्ट्रिय पुनर्जागरणको नयाँ युग प्रारम्भ गर्ने घोषणा गर्दै समावेशी लोकतन्त्र र मानवअधिकारका सवाल, आर्थिक समृद्धिको अभियानका सवाल, आध्यात्मिक सांस्कृतिक वैभवका सवाललाई पनि विस्तृतमा उल्लेख गरेको छ। कांग्रेसले आगामी ५ वर्षभित्र औद्योगिक लगानी र उत्पादनमा व्यापक विस्तार गर्दै नेपाललाई प्रमुख खाद्यान्न, फलफूल, तरकारी दुग्ध उत्पादन, अन्डा र मासु उत्पादन, जलविद्युत्, ऊर्जा, वन सम्पदामा आधारित प्रमुख वस्तुहरूमा आत्मनिर्भर बनाउने जनाएको छ।

नेपाल आध्यात्मिक सांस्कृतिक वैभवको अन्तर्राष्ट्रिय केन्द्र र नेतृत्व प्रदान गर्न सक्ने गुरु राष्ट्र भएको भन्दै कांग्रेसले हजारौं वर्षदेखि हिमालको काखमा बसेको नेपालले सनातन वैदिक संस्कृति र सभ्यताको संरक्षण र पोषण गर्दै आएको बारेमा पनि विस्तृत उल्लेख गरेको छ। युवा जनशक्तिका बारेमा कांग्रेसले आधुनिक र वैज्ञानिक सोच भएको नेपाल निर्माण गर्ने अभियानका साथ युवालाई नयाँ काम गर्ने जाँगर, नयाँ प्रविधि सिक्ने उत्साह, जोखिम मोल्ने साहस र इमानदारिताको लागि उपयोग गरिनेछ। जल, जमिन र जैविक विविधताई पनि प्राथमिकता दिँदै कांग्रेसले नेपालको वन सम्पदा जडीबुटी आयुर्वेदका लागि मात्र नभई आधुनिक चिकित्साको विविध औषधिको स्रोत पनि रहेको जनाएको छ।

कांग्रेसले घोषणापत्रमा अबको १० वर्षको विकास दृष्टि र लक्ष्य पनि सार्वजनिक गरेको छ। अबको १० वर्षमा कांग्रेसले १ सय खर्बको अर्थतन्त्र बनाउने र लाखौंको रोजगारी सिर्जना गर्ने जनाएको छ भने अर्थतन्त्रमा नेपाली उत्पादनमूलक उद्योगको अंश ५ बाट १५ प्रतिशत पुर्याई अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा गाँसिनेछ। कांग्रेसले गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३ प्रतिशतभन्दा कम बनाउने प्रतिबद्धता गरेको छ भने कुपोषण र भोकमरी निर्मूल पारिने जनाएको छ। सामाजिक सुरक्षा अवधारणालाई समेत प्राथमिकता दिँदै कांग्रेसले मानिस गर्भमा रहेदेखि मृत्युपछिको संस्कारमा समेत राज्यको सेवासुविधा हुने जनाएको छ।
आगामी निर्वाचनमा कांग्रेसले अतिवादको प्रतिवाद, रोजगारमूलक वृद्धि, कल्याणकारी राज्य, देश जोड्ने संघीयता, सार्वभौम समानता, संक्रमणकालीन न्याय र सामाजिक धार्मिक सद्भाव गरी प्रमुख ७ वटा मुद्दालाई अघि सार्दै मतदाताको घरदैलो जाने जनाएको छ।

घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो– ‘लोकतन्त्रका विरोधी शक्तिहरू एक भएका छन्, कम्युनिस्टहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजाने डर छ।’ अहिले संविधान कार्यान्वयन र मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने बेला भएकाले कम्युनिस्ट शासन आए डर र त्रासको शासन हुने प्रधानमन्त्री देउवाको भनाइ थियो। कम्युनिस्ट शासन आए हामीहरूले न्याय माग्न जाने ठाउँ पनि नरहने उहाँको भनाइ थियो।

आगामी निर्वाचनमा कम्युनिस्ट एक ठाउँमा उभिएका छन् यो कांग्रेसलाई ठूलो चुनौती हो भन्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस पनि एक ढिक्का भएर यो चुनौतीको डटेर सामना गर्ने बताउनुभएको थियो। कम्युनिस्ट गठबन्धनले संविधानको मौलिक कुरामै प्रश्न उब्जाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले देशलाई निरंकुशतातर्फ लैजाने उद्घोष गरेको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्