“ट्रम्प एसिया भ्रमणमा रहँदा उत्तर कोरियाले आणविक परीक्षण गर्नसक्ने”



वासिङ्टन, (एजेन्सी)
यसै साताको उत्तरार्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र दक्षिण कोरियाको भ्रमण गर्नेबेला उत्तर कोरियाले अर्को आणविक परीक्षण गर्न सक्ने अनुमान गरिएको छ।

म्याक्ल्त्ची न्युज रिपोर्टर अनिता कुमारले आइतबार एसिया भ्रमणको क्रममा ट्रम्पले अनावश्यक र विचारोत्तेजक टीका टिप्पणी गर्न नहुने बताएकी छिन्। महिनौंदेखि ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले एकले अर्कालाई आक्रमण गर्ने चेतावनी दिँदै आएका छन्। कुमारले भनेकी छिन्– ‘ट्रम्पले आफ्नो पहिलो एसिया भ्रमणको दौरान बोल्दा होस पुर्याउनुपर्दछ। उनी चीन वा दक्षिण कोरियामा रहँदा उत्तर कोरियाले आणविक परीक्षण गर्न सक्ने र त्यसवबला उनले होसियारपूर्वक प्रतिक्रिया दिनुपर्नेछ।’

शनिबार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का प्रमुख जिम म्याटिसले उत्तर कोरियाको अनियन्त्रित व्यवहारका कारण अमेरिका र वासिङ्टनबीचको तालमेल मिल्नुपर्ने आवश्यक रहेको बताएका थिए। म्याटिसले उत्तर कोरियाको अवैध र अनावश्यक क्षेप्यास्त्र र आणविक हतियार कार्यक्रमका कारण छिमेकी मुलुकलाई खतरामा पारेको र अमेरिकाले उत्तर कोरियालाई आणविक शक्ति सम्पन्न राष्ट्रका रूपमा स्वीकार्न सक्ने कल्पना पनि गर्न नसक्ने बताए। उत्तर र दक्षिण कोरियाबीचको असैन्य क्षेत्रको भ्रमण र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँगको भेटघाटपछि म्याटिसले सो प्रतिक्रिया जनाएका थिए। उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव जेनस स्टोल्टनवर्गले शुक्रबार ब्रसेल्समा विश्वका नेताहरूलाई उत्तर कोरियासँगको युद्ध निकै भयावह सावित हुने बताएका थिए।

उनले कुशल कूटनीति र शान्तिपूर्ण उपायले उत्तर कोरियाको आणविक खतरा समाप्त पार्नुपर्ने विचार व्यक्त गरेका छन्। जापानको जिजी प्रेसलाई अन्तर्वार्ता दिने क्रममा स्टोल्टेन्वर्गले नेटोले उत्तर कोरियासँग युद्ध नचाहेको स्पष्ट पारेका छन्।

उनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का स्थायी सदस्य तथा उत्तर कोरियाका छिमेकी एवं गठबन्धन राष्ट्र रसियाले यस सम्बन्धमा शान्तिपूर्ण समाधानका लागि पहल गर्नुपर्ने पनि बताएका छन्।

किम शृंगार प्रसाधन कारखानामा
यसैबीच हालै किम जोङ उनले राजधानी प्योङयाङस्थित सौन्दर्य प्रसाधन निर्माण कारखानाको भ्रमण गरेका छन्। सो भ्रमणमा उनको साथ उनकी पत्नी रि सोल–जु र बहिनी किम यो जोङ रहेका थिए। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले तिथि नतोकिएको सो भ्रमणसम्बन्धी तस्वीर आइतबार सार्वजनिक गरेको थियो। किमका पत्नी र बहिनी कमै मात्रामा सार्वजनिक स्थलमा देखा पर्ने गरेका छन्।

केही समयअघि मात्र किमले आफ्नी बहिनीलाई उत्तर कोरियाली सरकारको उच्च ओहदामा नियुक्त गरेका थिए। क्षेप्यास्त्र एवं आणविक परीक्षणको कारण उत्तर कोरियामाथि पटकपटक संयुक्त राष्ट्र संघले लगाएको आर्थिक नाकाबन्दीले गर्दा त्यहाँ शृंगारलगायत विदेशी बिलासिताका वस्तुहरूको निकै अभाव हुन थालेका छन्।

केही वर्षयता थुप्रै राष्ट्रहरूले उत्तरलाई विलासिताका वस्तुहरूको निर्यात रोकेका छन्। उत्तरले आफैले यस्ता वस्तु उत्पादनका लागि उद्योग विकास गरिसकेको छ। बोमह्यान्गी र उन्हासु ब्रान्ड उपभोक्तामाझ निकै लोकप्रिय भइसकेका छन्।

सैनिक र क्षेप्यास्त्र परीक्षण स्थलहरूमा मात्र तस्वीरमा देखिने गरेका किमले यस्तो कारखानामा भ्रमण गरी उत्तर कोरियाका सम्भ्रान्त र मध्यमवर्गको आफ्नो सत्ताप्रति समर्थन खोज्ने प्रोपोगान्डा गरेको हुनुपर्ने अनुमान गरिएको छ। सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाले थ्री डी टेलिभिजन र स्मार्टफोन उत्पादनमा महत्त्वपूर्ण फड्को मारिसकेको जनाएको छ।

किमका भतिजाको हत्या षडयन्त्र⁄
चिनियाँ प्रहरीले राजधानी बेइजिङ आइपुगेका केही उत्तर कोरियालीलाई किम जोङ उनका २२ वर्षीय भतिजा किम हान सोलको हत्या षड्यन्त्रमा संलग्न रहेको आशंकामा गिरफ्तार गरेको सोमबार दक्षिण कोरिया जुङ आङ वो अखबारले जनाएको छ। सात जनामध्ये दुई जना उत्तर कोरियाली एजेन्टलाई किमका सौतेनी भाइ किमजोङ नामका पुत्र किम हान सोललाई मार्ने योजना बनाएको आरोपमा चिनियाँ प्रहरीले गिरफ्तार गरेको हो।

किम जोङ नामको पनि केही महिना पहिले मलेसियाको क्वालालम्पुर विमानस्थलमा भिएक्स नर्भ एजेन्ट प्रयोग गरी हत्या गरिएको थियो। सो घटनामा दुई जना महिलाको सहभागिता रहेको थियो। दक्षिण कोरियाली टेलिभिजनमा किम हान सोल नामक युवकको तस्वीर देखाइएको थियो। यसैबीच दक्षिण कोरियाले यदि उत्तरले फेरि पनि आणविक परीक्षण गरेको खण्डमा रेडियोधर्मी चुहावट हुनसक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्