कांग्रेस–राप्रपा सम्बन्ध चिसियो



रामकृष्ण चापागाईं, काठमाडौं
कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ। मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई पार्टीबीच चुनावी सहकार्य गर्ने रणनीति तय भएको थियो। चुनावी सहकार्यअन्तर्गत प्रतिनिधिसभातर्फ मकवानपुर–१ मा राप्रपा अध्यक्ष कमल थापा र झापा–३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई छोड्ने भनिएको थियो।

दोस्रो चरणअन्तर्गत २१ गते हुने निर्वाचनमा उम्मेदवारको मनोनयन गर्न दुई दिन मात्र बाँकी हुँदा कांग्रेसले समानुपातिक सूचीमा रहेको सिटौलाको नाम अघिल्लो दिन फिर्ता गरी सोमबार झापा–३ बाट प्रत्यक्षतर्फ उठाउने बताएपछि राप्रपा झस्किएको छ।

कांग्रेसको यो कार्यलाई राप्रपा नेता लिङदेनले देशभरि नै कांग्रेससँगको चुनावी सहकार्य भाँडिने संकेत गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ– ‘भ्रममा नपरौं झापा क्षेत्र नम्बर ३ बाट मेरो उम्मेदवारी कायम रहन्छ, कुरा यत्ति हो एउटै गठबन्धनको २ उम्मेदवार भएपछि कांग्रेससँगको गठबन्धन टुट्यो।’

कांग्रेसले झापा–३ मा सिटौलाका साथै कैलाली क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा, मकवानपुर–२ मा महालक्ष्मी उपाध्याय ‘डिना’, काठमाडौं ३ मा अम्बिका बस्नेत, तेह्रथुममा सीता गुरुङ, अर्घाखाँचीमा डा. रामबहादुर बिसी र गुल्मी–१ मा चन्द्र भण्डारीलाई उठाउने तयारी गरेको छ।

दोस्रो चरणअन्तर्गत पर्सि बिहीबार उम्मेदवार दर्ता गर्ने कार्यसूची भए पनि कांग्रेसले अधिकांश क्षेत्रको उम्मेदवार टुंगो लगाउन बाँकी छ। यसअघि दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ २२ जना नेताहरूको क्षेत्र टुंग्याएको थियो।
कांग्रेसले तराईका प्रमुख दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग चुनावी तालमेल गर्ने विषयलाई पनि निष्कर्षमा पुर्याउन सकेको छैन। उम्मेदवार छनोट गरिसक्नुपर्ने अन्तिम समय आइसक्दा पनि कांग्रेस अझै ती दलसँग छलफलमै रहेको जनाएको छ।

कांग्रेसभित्र उम्मेदवार छनोटमा पक्षपात भएको असन्तुष्टि जनाउँदै कांग्रेस नेताहरू गोविन्दराज जोशी, हरिबोल भट्टराई, दीनबन्धु अर्याललगायतका नेताहरू नेपाली कांग्रेस (बीपी) पार्टी खोलेर छुट्टै चुनाव चिह्न लिएर चुनावी मैदानमा सहभागी हुने बताइरहेका छन्।
दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ताका लागि प्रतिनिधिसभा र प्रदेशसभाको अधिकांश क्षेत्रमा सोमबार अबेरसम्म उम्मेदवार टुंग्याउन नसकेको कांग्रेसले चुनावी घोषणा–पत्र भने तयार पारेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार आगामी निर्वाचनका लागि कांग्रेसले तयार पारेको घोषणा–पत्र आज मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, सानेपामा सार्वजनिक गर्दै छ।

 

राप्रपाले ५ नेताको
क्षेत्र तोक्यो
काठमाडौं, (नेस)
कांग्रेससँगको चुनावी तालमेलमा किचलो बढेसँगै सोमबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा अध्यक्ष कमल थापासहित ५ जना नेताको क्षेत्र निर्धारण गरेको छ।

बैठकले मकवानपुर–१ मा अध्यक्ष थापा, झापा–३ मा राजेन्द्रप्रसाद लिङ्देन, काठमाडौं–७ मा विक्रमबहादुर थापा, बाँके–२ मा ओमप्रकाश आजाद र दैलेख–१ मा दीपककुमार शाहीको उम्मेदवारी टुंगो लगाएको हो। पर्सि १६ गते नै मनोनयन गर्नुपर्ने भएकाले अन्य जिल्लाका उम्मेदवारहरू छिटोभन्दा छिटो टुंगो लगाइने प्रवक्ता सुशीलकुमार श्रेष्ठले बताउनुभएको छ।

बैठकले आगामी हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि पार्टीको घोषणापत्र कात्तिक २० गते काठमाडौंमा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। बैठकले कांग्रेससँगको चुनावी सहकार्यका बारेमा आएको चिसोपनका बारेमा केही निर्णय गरेको छैन।

प्रतिक्रिया दिनुहोस्