समयमै उपचार गरे बाथरोग निको हुन्छ



 

भगवती तिमल्सिना, काठमाडौं

पछिल्लो समय मानिसमा स्वास्थ्य समस्या एकपछि अर्को थपिँदै गएको पाइन्छ। यतिबेला सर्नेभन्दा नसर्ने रोगको समस्या जटिल बन्दै गएको छ। विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको प्रतिवेदनमा जाडो मौसममा सर्नेभन्दा नसर्ने तर पीडादायक समस्या दम, खोकी, नसासम्बन्धी समस्याहरु हुने गरेको जनाएको छ। जसमा बाथरोग पनि एक जटिल समस्या बनेर देखापरेको डब्ल्यूएचओले जनाएको छ।

के हो बाथ ?

हाड, जोर्नी, नशा, मांशपेशी दुखेर पीडा हुने समस्यालाई बाथरोग भनिन्छ। बाथरोग धेरै प्रकारको हुने भए पनि विशेष गरी उपचार पद्धति अपनाउन सजिलोका लागि चार भागमा विभाजन गरेको पाइन्छ। चार भागमा बाँडिएका बाथरोगमा हड्डी अर्थात् जोर्नीमा हुने दुखाइ, मासुको भाग सुन्निने र दुख्ने तथा कमजोर बनाउने, भित्री नशा कट्कटी खाने र मुटु दुख्ने, मुटु सुन्निने, मुटुमा प्वाल पर्नेजस्ता समस्या हुने गर्दछ। बाथरोग सयौं प्रकारका हुने गरेको चिकित्सकहरु बताउँछन्। समयमै उपचार गरे बाथरोग निको पनि हुन्छ। निको नै नहुने रोग भनेर अन्धविश्वासमा पर्न नहुने चिकित्सकहरु बताउँछन्।

बाथरोग लागेका मानिसको शरीरको विभिन्न भागमा दुख्ने, करकरी खाने, पोल्ने, सुन्निने जस्ता समस्या देखा पर्दछ। जस्तै हाडजोर्नी, घाँटीको हड्डी दुख्ने, पाखुरा, कुइनो, हातका औंला, कम्मर दुख्ने, घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पैताला, दुख्नेजस्ता समस्या देखा पर्दछ। यस्तो दुखाइ शरीरभरि फैलेका अवस्थामा ज्वरोसमेत आउन सक्छ।

शारीरिक कमजोर, मुटु काम्ने, पानी छुँदा पनि परिवर्तन देखिने, जोर्नी सुन्निने, दुख्ने, पानी जम्नेजस्ता समस्यासँग विस्तारै शरीरको कुन भागमा समस्या हो त्यो भाग बाङ्गिँदै जाने, सुन्निने, राता–राता डाबर देखापर्ने, नीलो हुनेजस्ता समस्या यो रोगको सबैभन्दा खराब पाटो हो। बाथरोग लागेका महिला गर्भवती छन् भने गर्भ तुहिनेसम्म समस्या हुन्छ भने पुरुषमा बाँझो हुने सम्भावना रहन्छ।

बाथरोग समयमै उपचार गर्न सके सामान्य र ढिलो भएमा जटिल पनि हुन सक्ने विशेषज्ञहरु बताउँछन्। यो रोग कुनै व्यक्ति विशेषमा हुने नभई जो–कोहीलाई हुन सक्छ र वंशानुगत कारणले पनि यो रोग लाग्न सक्छ। समयमै उपचार गरेमा निको पनि हुन्छ।

बाथरोग भर्खर जन्मेको बच्चादेखि जुनसुकै उमेरका मान्छेमा लाग्न सक्छ। यो रोग कुनै जीवाणु तथा किटाणुले हुने नभई अटो इम्युन प्रोसेसबाट हुने रोग हो। तीमध्ये केही प्रतिशत बाथ ब्याक्टेरिया वा भाइरसले पनि हुने गरेको चिकित्सकहरुको भनाइ छ।

यो रोग युरिक एसिड बढ्दा पनि हुने गर्दछ भने विशेष गरी खानपान, रहनसहन दैनिक जीवनशैलीमा बढी निर्भर हुन्छ। कतिपयमा सामान्यरूपमा देखापर्ने हड्डी खिइने समस्या देखापर्छ। यो सरुवा रोग नभएको चिकित्सकहरुको ठम्याइ छ। यो रोगका बारेमा धेरै मानिसघरेलु उपचार, होमोप्याथी र अन्धविश्वासमा बसेका पाइन्छन्। समयमै उपचार गरे बाथरोग निको हुने भएकाले सम्बन्धित विज्ञ चिकित्सकोमा पुग्नु बुद्धिमानी हुन्छ।

बाथरोगबारे फोटो प्रदर्शन
बाथरोगबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने नेसनल बाथरोग सेन्टरले सोमबार तस्वीर प्रदर्शनी आयोजना गर्यो। सेन्टरको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित तस्वीर प्रदर्शनीमा नेपालमा देखिएका विभिन्न बाथरोगको जानकारीसहितका तस्वीर प्रदर्शन गरिएको सेन्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। बाथरोगले शरीरमा प्रत्यक्ष असर पार्ने समस्याका बारेमा तस्वीरमार्फत महत्त्वपूर्ण जानकारी हासिल गर्न सकिने बताइएको छ। सेन्टरले एक साताका लागि निःशुल्क रगत परीक्षण गर्ने पनि जनाएको छ।
तस्वीर प्रदर्शनीको उद्घाटन सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले गर्नुभएको थियो। हाले नेपालमा करिब ३६ लाख मानिसमा विभिन्न प्रकारका बाथरोग भएको जानकारी दिँदै यसको समयमै उपचारका लागि बिरामी अझै समयमा चिकित्सककहाँ पुग्न नसकेको बताउनुहुन्छ।
बाथरोग विशेषज्ञ डा. विनित वैद्यले बाथ मानव शरीरको अस्थिपञ्जरलाई अस्थिर बनाई दुःखाउने रोग भएको बताउनुभयो। बाथ एक व्यक्तिबाट अर्कोमा नसर्ने तर दीर्घरोग भएको उहाँले उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्