सिटीको अपराजित यात्रा कायमै



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

शनिबार राति भएको खेलमा वेस्ट ब्रोमलाई ३–२ ले हराएपछि म्यानचेस्टर सिटीले यस सिजनको लिगमा दश खेलमध्ये ९ मा जित र एकमा बराबरीको नतिजा निकालेको हो। टोलीलाई जित दिलाउन लेरोए साने, फर्नान्डिनो र रहिम स्टर्लिङले एक–एक गोल गरेका थिए। वेस्टब्रोमका लागि जे रोड्रिग्वेज र म्याथ्यु फिलिप्सले एक–एक गोल फर्काएका थिए।
प्रिमियर लिगअन्तर्गत नै भएको अर्को खेलमा चेल्सीले बर्नमाउथलाई १–० ले हराउँदा आर्सेनलले स्वान्सी सिटीलाई २–१ ले पराजित गर्यो।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा मिडफिल्डर ईडेन हाजार्डले घरेलु टोलीका तर्फबाट निर्णायक गोल गरेका थिए। पहिलो हाफ गोलविहीन बनेको उक्त खेलको ५१औं मिनेटमा चेल्सीले खेलमा अग्रता लिन सफल भएको थियो। मोराटाको पासमा हाजार्डले गरेको उक्त गोल खेलकै निर्णायक साबित बनेको थियो।

यसै गरी लिभरपुललाई जित दिलाउन डेनियल स्टुरेज, रोबर्टो फर्मिनो र जर्जिनियो वाइनाल्डमले गोल गरेका थिए। पहिलो हाफमा लिभरपुलका फरवार्ड मोहम्मद सालाह पेनाल्टीबाट चुकेका पनि थिए। त्यस्तै शीर्ष ६ को अर्को टोली आर्सेनल पनि जित दर्ता गर्न सफल रह्यो। पहिलो हाफमा स्याम क्लुकासको गोलबाट पछि परेको आर्सेनलका लागि दोस्रो हाफमा सिड कोलासिनाच र आरोन राम्सेले एक–एक गोल गरेका थिए।

१०औं चरणको खेलपछि प्रिमियर लिगको अंक तालिकामा २८ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २३ अंक छ भने २० अंक जोडेको टोटनह्याम तेस्रो स्थानमा छ। समान १९ अंक जोडेका चेल्सी र आर्सेनल क्रमशः चौथो तथा पाँचौं स्थानमा छ भने लिभरपुल छैठौं स्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्