केसीको हत्यापछि सर्वसाधारण त्रसित



 

सलिम अन्सारी, प्युठान
स्थानीय व्यवसायीको घरभित्रै हत्या भएपछि सर्वसाधारण त्रसित बनेका छन्। नौबहिनी गाउँपालिका–६ बाहानेमा व्यापारी ३५ वर्षीय वसन्त केसीको हत्याले गाउँमा त्रास छ। आफ्नै घरभित्र रातको समयमा हत्या भएपछि सर्वसाधारण त्रसित भएको स्थानीयले बताए।साँझबिहान बजारक्षेत्रमा चहलपहल नै हराएको छ।तिहारको भाइटीकाको दिन उनको हत्या भएको थियो।

घटना देखेका आसपासका बासिन्दा डराइरहेका छन्। ‘व्यापारिको हत्याले सबै डराएका छन्’, स्थानीय महेश थापाले भने– ‘साझ परेपछि बजारका सबै जना पसल बन्द गर्छन्।’ घटनापछि सिंगो बजार र गाउँका जनता दुःखी बनेको उनले बताएका हुन्।

बाहाने बजार गाउँपालिकाको केन्द्रका रुपमा रहेको छ। गाउँपालिकाका स्याउलिवाङ, लिघा, डामृ, खवाङ, फोप्ली र लुङको बजार केन्द्र भएको थापाले बताए। ‘सामान्य झैझगडा हुने गर्थे’, उनले भने– ‘यो घटनाले सबैलाई स्तब्ध बनायो।व्यवसायीको छाता संगठन प्युठान उद्योग वाणिज्य संघले घटना दुःखद भएको जनाएको छ। ‘घटना जघन्य र सुनियोजित छ’, संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले भने– ‘घटनामा संलग्न सबैलाई कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्छ।दोषी पत्ता लगाएर कारबाही गर्न उनले प्रहरीसँग आग्रह गरेका छन्।

श्रीमान्को हत्यामा संलग्न दोषीलाई कारबाही गर्न मृतककी श्रीमती नारायणी केसीले माग गरिन्। श्रीमानको किरिया बसेकी केसी अढाई वर्षकी छोरीसहित जिल्ला प्रहरी कार्यालयमा पुगेर दोषीलाई कारबाही गर्न माग गरेकी हुन्। उनले घटनाको निष्पक्ष छानबिन गर्न समेत आग्रह गरकी छिन्। घटनाको आरोपमा पक्राउ परेका केही व्यक्तिलाई छुटाउन राजनीतिक दल लागेको भन्दै उनले दुःख व्यक्त गरिन्। ‘प्रहरी प्रशासनले दोषीलाई कारबाही गरी न्याय दिनेछ’, उनले भनिन्– ‘दोषीलाई राजनीतिक संरक्षण नहोस्।’

केसीको हत्यासँगै १० लाख भारतीय रुपियाँ, अढाई लाख नेपाली रुपियाँ, १० तोला सुन र २० हजारको रिचार्ज कार्ड चोरी भएको परिवारिक स्रोतले जनाएको हो। मृतक केसीकी १४ वर्षीया छोरी, १२ वर्षीय छोरा र अढाई वर्षीया छोरी छन्।

घटनाको आरोपमा प्रहरीले सोही घरका छिमेकीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको आरोपमा छिमेकी १७ वर्षीय अमरजित केसी, २३ वर्षीय मन्जित केसी र ५९ वर्षीय शेरबहादुर केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले बताए।

‘शवलाई ल्यावमा परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ’, उनले भने– ‘पक्राउ परेकाहरूको बयान शुरू हुँदैछ। चोरी भएको केही पैसा बरामद गरेको र थप खोजतलास जारी रहेको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए।। उनले कतैबाट पनि राजनीतिक दबाब नआएको बताए।। ‘प्रहरीले फ्रेस रुपमा काम गरिरहेको छ’ –पोख्रेलले भने। पैसाका निम्ति व्यवसायीको घरभित्रै हत्या गरिएपछि जिल्लाका व्यापारिक समुदायमा समेत मनोवैज्ञानिक त्रास छाएको छ।

प्रतिक्रिया दिनुहोस्