कांग्रेसको चुनावी घोषणापत्र तयार



काठमाडौं, (नेस)
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र तयार भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयको सचिव प्रदीप पराजुलीका अनुसार घोषणापत्र तयार भइसकेकाले छपाइका लागि आज सोमबार प्रेसमा पठाइँदै छ।

कांग्रेस नेता महेश आचार्यको नेतृत्वमा रहेको घोषणापत्र तयारी समितिले तयार पारेको घोषणापत्रलाई अन्तिम रूप दिँदै आज सोमबार प्रेसमा पठाउन लागिएको हो। घोषणापत्र नहँुदा पहिलो चरणको निर्वाचनमा सहभागी कांग्रेसका उम्मेदवारहरू घोषणापत्रबिनै चुनावी प्रचार–प्रसारमा लागेका छन्। नेता बालकृष्ण खाँणको संयोजकत्वमा गठित केन्द्रीय प्रचार–प्रसार समितिले पनि पूर्णता नपाउँदा कांग्रेसको प्रचार–प्रसार कार्य पनि प्रभावकारी हुनसकेको छैन।

आइतबार समानुपातिकतर्फको उम्मेदवारको सूची संशोधन गर्ने अन्तिम दिन भएकाले कांग्रेसले प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा ध्यान दिन नपाएको सचिव पराजुलीले बताउनुभयो। सोमबारदेखि दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोट कार्य पनि तीव्रताका साथ अघि बढ्नेछ। गत असोज २९ गते बुझाइएको समानुपातिकतर्फको अन्तिम संशोधन गर्ने मिति निर्वाचन आयोगले हिजो आइतबार तोकेको थियो।

पहिलो चरणमा राप्रपा प्रजातान्त्रिक, राप्रपा, नयाँ शक्तिलगायतका दलसँग केही क्षेत्रमा सहकार्य गरेको कांग्रेसले दोस्रो चरणमा तराईका मुख्य दलहरू राजपा, संघीय समाजवादी फोरमलगायतका दलसँग पनि सहकार्य गर्ने भन्दै छलफल गरिरहेको भए पनि निष्कर्षमा पुग्न सकेको छैन। आफ्नै पार्टीभित्रका आकांक्षी नेताको व्यवस्थापन गर्न कठिन भइरहेका बेला अन्य दलको सहकार्यले कांग्रेसलाई क्षेत्र बाँडफाँडमा समस्या भइरहेको छ।

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने दिन नजिकिँदै जाँदा कांग्रेसलाई छिटो उम्मेदवार छनोट गर्न दबाब बढेको छ। दोस्रो चरणका लागि शीर्ष नेतासहित प्रतिनिधिसभाका लागि करिब ३ दर्जन क्षेत्रमा उम्मेदवार टुंग्याए पनि अन्य क्षेत्र र प्रदेशसभाका लागि उम्मेदवार छनोट गर्न कांग्रेसलाई सकस भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्