म्यादी प्रहरी छनोट प्रक्रिया अन्तिम चरणमा



 

मुगु, (नेस)
आउँदो मंसिर १० गते हुन गइरहेको प्रदेश नम्बर ६ का जिल्लाअन्तर्गत मुगुमा पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षका लागि चाहिने म्यादी प्रहरीको अन्तिम नतिजा शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक गरेको छ। जिल्लाभर निर्वाचन शान्तिपूर्ण र भयरहित तरिकाले सु–सम्पन्न गर्न ४ सय ४९ जना पुरुष र ६० जना महिला म्यादी प्रहरीका लागि असोज २४ गतेसम्म दरखास्त माग भई आएको थियो। जसअनुसार १ हजार ७८ जना पुरुष र १ सय २६ जना महिला म्यादी प्रहरीका लागि दरखास्त परेको थियो।

निर्धारित कोटाअनुसार उम्मेदवार छनोट गर्न जिल्ला प्रहरी कार्यालय मुगुले मेडिकल जाँच, सेटअफ, पुसअप र दौड, लिखित मौखिक परीक्षालगायतका छनोटका मापदन्डअनुसार ४ सय ४९ जना पुरुष र ६० जना महिला म्यादी प्रहरीमा छनोट गरी ९० जना वैकल्कि उम्मेदारको सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।

१२ दिनको म्यादी प्रहरीको छनोटको प्रतीक्षामा बसेका उम्मेदवारहरूको प्रकाशित नतिजा हेर्न साँझ अबेरसम्म मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सूचनापाटीमा भीड नै लागेको थियो। आफ्नो नाम अन्तिम नतिजासम्म नपरेपछि कतिपय उम्मेदवार घर फर्किएका छन् भने छनोटमा परेका उम्मेदवारलाई जिल्ला प्रहरी कार्यालय मुगुले शनिबार दिउँसो सम्पर्कमा आउन भनेको छनोट भएका म्यादी प्रहरी हेमराज बुढा बताउँछन्।

प्रतिक्रिया दिनुहोस्