‘औषधि पसलेले बिरामीलाई विष खुवाउँछन्’



विष्णुप्रसाद भण्डारी, अछाम
निजी औषधि पसलेहरूले बिरामीलाई विष खुवाइरहेको आरोप एक कार्यक्रमका सहभागीले लगाएका छन्। शनिबार अछाम सदरमुकाम मंगलसेनमा सम्पन्न मानवअधिकार तथा स्वास्थ्य अधिकार विषयक अभिमुखिकरण कार्यक्रमका सहभागी सरोकारवालाहरूले यस्तो आरोप लगाएका हुन्।

निजी क्लिनिक तथा औषधि पसलेहरूले औषधि बेच्ने नाममा मानिसलाई विष खुवाउने गरेकाले यसको अन्त्यका लागि सबै सरोकारवाला जुट्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन्। कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ अछामका अध्यक्ष खड्गबहादुर खड्काले नागरिकको विश्वास जित्ने नाममा औषधि पसलेहरूले मानव स्वास्थ्यलाई असर गर्ने औषधि चलाउने गरेको आरोप लगाउनुभयो। नागरिकले सरसकारी स्वास्थ्य संस्थालाईभन्दा निजी औषधि पसललाई बढी विश्वास गर्ने गरेको बताउँदै उहाँले यसबाट नागरिक थाहै नपाई लुटिने गरेको बताउनुभयो।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा स्रोतकेन्द्र काठमाडौंका सूचना अधिकारी पूर्ण दुवालले स्वास्थ्यमा निजी औषधि पसलहरूको सिन्डिकेट अन्त्य गर्न जरुरी रहेको बताउनुभयो। निजी औषधि पसलहरूबाट नागरिक लुटिने गरेको र यसबाट मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको उहाँको भनाइ छ। निजी औषधि पसलहरूको व्यवहार हेर्दा निजी औषधि पसलहरू सेवा दिन नभइ व्यापार गर्न मात्र स्थापना गरिएको जस्तो पाइएको उहाँले बताउनुभयो। निजी क्लिनिकहरूले मानिसलाई विष खुवाउने गरेको उहाँको आरोप छ।

कार्यक्रममा बोल्दै स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालका ७ नं. प्रदेश संयोजक कृष्ण देउवाले सुदूरपश्चिममा अहिले पनि कैयौं नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित रहेको बताउनुभयो। सबै मिलेर नगरिकको स्वस्थ्यमा सहज पहुँच पुर्याउन जरुरी रहेको उहाँले बताउनुभयो। कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले विगतमा भन्दा अहिले नागरिकको स्वास्थ्यमा पहुँच बढेको दाबी गर्नुभयो। स्वास्थ्य संस्थामा नागरिकको दिनहुँ भीडभाड हुने गरेको र सोहीअनुरूप सेवा प्रवाह भइरहेको उहाँको भनाइ छ। कार्यक्रममा सहभागी जिल्लास्थित पत्रकारहरूले स्वास्थ्यमा अझै पनि नागरिकको सहज पहुँच पुग्न नसकेको गुनासो गरेका थिए। यसका लागि सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा उहाँहरूको जोड थियो।

प्रतिक्रिया दिनुहोस्