स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव



विमल विष्ट, डोटी
टीका ग्रामीण स्वास्थ्य चौकीमा लामो समयदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ। लामो समयदेखि यहाँका ग्रामीण स्वास्थ्य संस्थामा औषधि नहुँदा ग्रामीण स्वास्थ्य संस्थाहरू प्रायः सुनसान हुने गरेको छन्। औषधि व्यवस्था विभाग तथा जिल्ला अस्पतालबाट नै पर्याप्त मात्रामा औषधि नपठाएकाले यहाँका ग्रामीण स्वास्थ्य चौकीहरूमा औषधि अभाव देखिएको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन्। गाउँका स्वास्थ्य चौकीहरूमा औषधि नहुँदा बिरामीहरू मर्कामा परेको जोरायल गाउँपालिका–५ का स्थानीय सुरतबहादुर खडायतले बताउनुभयो।

स्वाथ्यकर्मीका अनुसार ग्यास्ट्रिक, पखाला, प्रसूतिपश्चात् लगाइने सुईजस्ता औषधि विगत एक वर्षदेखि जिल्ला स्वास्थ्य कार्यालयमा छैनन्। त्यस्तै गएको ३ महिनादेखि आइरन, आईभीपी खोप र सिटामोल पनि अभाव भइरहेको बताइएको छ। क्षयरोगीलाई अनिवार्य खुवाउनुपर्ने औषधि तथा रुघाखोकीलगायतका औषधि पनि पर्याप्त मात्रामा नभएको इलाका स्वास्थ्य कार्यालय गड्सेराकी अनमी लीला मगरले बताउनुभयो।

उहाँले भन्नुभयो ‘हामीसँग कुनै पनि औषधि नभएको त हैन, तर केही आवश्यक औषधिहरू अभाव भएको छ, माग गरे अनुसार औषधि नआएकाले जेनतेन गरी समस्या सुल्झाउन बाध्य भएका छौं।’ ग्रामीण स्वास्थ्य चौकीलाई आवश्यक पर्ने औषधिहरू सम्बन्धित गाउँपालिकाले किन्नुपर्ने प्रावधान भएपछि गाउँपालिकाले समयमै औषधि नकिनिदिंदा यो समस्या उत्पन्न भएको कतिपय स्वास्थ्यकर्मीहरू बताउँछन्। गर्भवती महिलाले खानुपर्ने अतिआवश्यक औषधि आइरन चक्कीसमेत यहाँका स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा छैनन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वर्षभरिमा १२ लाखका आइरन चक्की चाहिनेमा विभागले जम्मा दुई लाखका मात्र पठाएकाले आइरन चक्कीको चरम अभाव देखिएको हो।

उता जिल्ला अस्पताल डोटीका प्रमुख सतिष विष्टले औषधिका लागि सम्बन्धित गाउँपालिकालाई खरिद गर्न पत्राचार गरिसकेको र जिल्लाबाट प्रदान गरिने औषधि लैजान सबै स्वास्थ्य चौकीहरूलाई खबर गरिसकेको बताउनुभयो। उहाँले भन्नुभयो –‘जिल्लाबाट प्रदान गरिने औषधि लैजान खबर गरेका छौं, गाउँपालिकालाई औषधि किन्न भनेका छौं, सम्भवतः गाउँपालिकाले पनि चाडै औषधि किनेर दिन्छ होला।’ स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएकाले गाउँमा सामान्य रोगका बिरामीहरू पनि महँगो रकम खर्च गरेर जिल्ला सदरमुकाम तथा जिल्लाबाहिर उपचारका लागि जान बाध्य भएको स्थानीय सुदिव बोहराले बताउनुभयो। गाउँका स्वास्थ्य संस्थामा औषधि नभएपछि निजी अस्पताल तथा मेडिकलहरूमा अहिले बिरामीको बढी घुईंचो लाग्ने गरेको स्थानीयबासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्