विर्तामोडको घट्नामा ८ बुँदे सहमति , डिएसपी सिलवाल जिल्ला तानिए



भद्रपुर (ने.स) । बालक लक्ष्मण सिवाकोटीको हत्याको बिषयलाई लिएर झापाको बिर्तामोडमा शुक्रवार भएको झड्प पश्चातको सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

झापा प्रशासन र पीडित पक्ष बिच भएको ८ बुँदे सहमति पश्चात आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो । आन्दोलनको कार्यक्रम फिर्ता भएपनि बिर्तामोडमा शुक्रवार साढे १ बजेदेखि झापा प्रशासनले लगाएको कफ्र्यु यथावत राखिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । अवस्थालाइ हेरेर हटाउने उनको भनाइ छ ।

शनिवार इलाका प्रहरी कार्यालय बिर्तामोडमा बसेको सर्वपक्षिय बैठकले ८ बुँदे सहमति गरेको छ । सहमति अनुसार बिर्तामोडमा भएको घटनाको बिषयलाई लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी राजकुमार सिलवाललाई छानबिन गरी प्रहरी नियमावली बमोजिम कारवाही गर्न सिफारिस गर्ने, , बालक हत्याकाण्डको सम्बन्धमा सत्य तथा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सुक्ष्म रुपमा थप अनुसंन्धान सुरु गर्ने, सो सम्बन्धमा संघर्ष समितिका संयोजक सीता पाण्डे, सदस्य धुव्रप्रसाद सिवाकोटी, मृतकका काका बिष्णु सिवाकोटी र मामा हेम पौडेलको सहयोगमा अनुसन्धान अघि बढाउने, असोज १४ र कार्तिक १० गते भएको घटनाको दोषीलाई छानविन गरी कानून बमोजिम कारवाहीका लागि गृह मन्त्रलायबाट गठित छानबिन समितिलाई सबै पक्षले सहयोग गर्ने, मृतक नरेश थापाका परिवारलाई १० लाख राहत उपलब्ध गराउन तत्काल गृहमा अनुरोध गर्नुका साथै मृतक परिवारलाई तत्काल बिर्तामोड नगरपालिका र जिल्ला समन्वय समिति झापाले २५– २५ हजार र बिर्तामोड उद्योग बाणिज्य संघले १० हजार उपलब्ध गराउने र मृतकका श्रीमतीलाई नगरपालिकामा रोजगारी दिने सहमति भएको छ ।
त्यस्तै घाइते सबैलाई निशुल्क उपचारको व्यवस्था सरकारले गर्ने, बालक हत्या काण्डको सम्पूर्ण कार्यक्रम फिर्ता गरी असामान्य अवस्थालाई सामान्यीकरण गर्न सबै पक्षले सहयोग गर्ने र बिर्तामोडमा भएको घटनामा सरकारी कार्यालय र निजि सवारीसाधन तोडफोड गरेको सम्पत्तीको क्षति यकिन गरी क्षतिपूर्तिका लागि सरकार समक्ष सिफारीस गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए । हाल डिएसपी सिलवाल प्रहरी कार्यालय झापा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्