ज्ञानमणि नेपाल कालोटोपी
कहिले निबन्ध त कहिले शब्दकोश लेखेर चर्चामा आइरहने साहित्यकार विनयकुमार शर्मा नेपाल यसपटक मार्गदीप भन्ने कविता संग्रह लिएर आएका छन्। उनका हरेक कविताले मानवजीवनका विविध विषय र यथार्थताहरु प्रस्तुत गरिरहेका छन्। मार्ग र दीप शब्दलाई अलग पार्ने हो भने बाटो र उज्यालो दिने बत्तीको अर्थ लाग्छ। साँच्चै कविता पनि उज्यालोको बाटो देखाउने खालकै लेखिएको पढ्दै जाँदा पाठकले बुझ्न अप्ठ्यारो पर्दैन।

जीवन, दर्शन, जगत् र वैचारिक सघनताले सजिएको मार्गदीपमा मान्छेले कसैलाई देख्न नसक्नु भनेको शरीरबाट मन र आत्मालाई निकालेर लयबद्ध हुन खोज्नुजस्तै हो भनिएको छ। कवितामा नारी र पुरुषका बीचको आकर्षण, मायाप्रेमका यथार्थ पक्षलाई पनि निकै रोचक पाराले उतारिएको छ। सानो कुरालाई पनि कविता बनाउन सक्नुले उनको कवित्व यहाँ छर्ल· देख्न सकिन्छ।

हो म यो पनि जान्दछु
मान्छे भन्ने जात
आफू बदलिन गए गिरेको ठान्दछ।
अरुलाई बदल्न पाए जितेको ठान्दछ
त्यसैले अहंकार र कुण्ठाको पोको हो मान्छे।
(मान्छे, मन र स्वभावबाट)
यसमा मानवको स्वाभाविक अवस्थालाई देखाइएको छ। उनका कुनै कवितामा लक्ष्मीप्रसाद देवकोटाको प्रभाव पनि पाइन्छ।

म फलाममा फलाम ठोकिनु
संगीतको झंकार ठान्छु।
त्यसको लयतामा मदहोस बन्छु।
तर तिमी समर्पणलाई हार ठानेर
आगो नै आगोको प्रचण्ड लप्काले
भरिएको कुवा देख्छौ र जीवनबाट पलायन हुन्छौ
(हो म तरल छु बाट)

उनका कविता पढ्दा रसिला छन्। तर कुनै–कुनै पट्यार लाग्दा पनि छन् कि झैं लाग्छ। कुन मुडमा के लेखेका होलान् भन्ने पनि लाग्न सक्छ। तर त्यो बुझ्न नसकिएको अवस्था हो। उनले जे उठान गरेका छन् वास्तवमा यथार्थपरक छन्। शब्दार्थ प्रकाशनले बजारमा पठाएको यस संग्रहमा ३९ वटा साना–ठूला कविताहरु छन्। बजारमा यसलाई २ सय रुपियाँमा किन्न पाइन्छ।

LEAVE A REPLY