नेतृत्व चयनमा दलहरुलाई फलामको चिउरा, नेताविहीन बन्दै जिल्ला



 

अमृत अर्याल, स्याङ्जा वालिङ

यतिबेला जिल्ला नेताविहीन बनेको छ। टिकट चाहियो भन्दै उनीहरु काठमाडौं गएपछि जिल्ला नेताविहीन बनेको हो। कांग्रेस, एमाले, माओवादीलगायत दलका अधिकांश नेता काठमाडौंमा रहेका छन्। यसले गर्दा जिल्लाको चुनावी माहोल अभैm तात्न सकेको छैन। जिल्लामा एमालेका नेताहरु आंशिक रूपमा सक्रिय देखिए तापनि कांग्रेसका नेताहरु भने टिकटका लागि राजधानी धाएका छन्। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको माहोलसँगै केही दिन यता दल प्रवेश र गठबन्धनको चहलपहल ह्वात्तै बढेको छ। यसमध्ये सबैभन्दा ठूलो तरङ्ग वाम गठबन्धनको प्रसङ्गले ल्याएको देखिन्छ।

प्रतिनिधि सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा नेकपा एमालेबाट क्षेत्र नं. १ का लागि गणेशमान गुरुङ् र नारायण मरासिनी टिकटको दौडमा देखिन्छन् भने वाम गठबन्धनबाट माओवादीकी अमृता थापाको समेत टिकटका लागि दावी रहेको देखिन्छ। क्षेत्र नं. २ का लागि भने एमालेबाट पदमा अर्याल मात्र सिफारिस भएको एमालेले जनाएको छ। त्यसै गरी प्रदेश सभाका लागि क्षेत्र नं. १ को (क) बाट एमालेका जिल्ला अध्यक्ष मिनप्रसाद गुरुङ्को नाम मात्र सिफारिस भएको छ। वाम गठबन्धनअन्तर्गत अन्यको दावी नरहेपछि प्रतिनिधि सभाका लागि क्षेत्र नं. २ मा पदमा अर्याल र क्षेत्र नं. १ को (क) मा प्रदेश सभाका लागि मिनप्रसाद गुरुङ्को उमेदवारी सुनिश्चित देखिन्छ।

प्रदेश सभाअन्तर्गत क्षेत्र नं. १ (ख) एमालेबाट विश्व पौडेल र रामबहादुर थापा तथा माओवादीबाट जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेको दौडधुप देखिन्छ। प्रदेश सभाकै लागि क्षेत्र नं. २ (क) मा एमालेबाट मोहन रेग्मी र माओवादीका ज्वालाको नाम सिफारीसमा परेको वाम गठबन्धनले जनाएको छ। यसै गरी प्रदेश सभाअन्तर्गत क्षेत्र नं. २ को (ख) मा एमालेबाट सोभियत ढकाल, ढाकाराम अर्याल र रामचन्द्र भट्टराई तथा माओवादीबाट पारसु गैह्रेको दावी रहेको छ। वाम गठबन्धनबाट सबैलाई मिलाएर लैजान एमालेललाई पनि फलामको चिउरा सरह भएको छ। अर्कोतर्फ लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेतृत्व गरेको कांग्रेका आकांक्षीनै धेरै भएपछि उसलाई पनि निर्णयमा पुग्न कठिन भएको सम्बद्ध स्रोतले जनाएको छ। लोकतान्त्रिक गठबन्धनमा सहभागी राप्रपालगायत अन्यदलले जिल्लामा कुनै पनि पदमा दावी नगरी स्याङ्जा कांग्रेसलाई सघाउने भएका छन्। नेपाली कांग्रेसबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ गरी जिल्लाबाट करिब १ सय १२ नाम सिफारिस भएको थियो। नेपाली कांग्रेसका जिल्ला सचिव कुमार रानाका अनुसार प्रतिनिधि सभाका लागि क्षेत्र नं. १ बाट कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान सांसद धनराज गुरुङ् र निवर्तमान सांसद राजु थापामध्ये एकको सम्भावना बढी रहेको छ। क्षेत्र नं. २ का लागि नेपाल सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ चुनाव लड्न इच्छुक देखिएपछि कसैले पनि अहिलेसम्म दाबी गर्न सकेका छैनन्। यस कारण श्रेष्ठ क्षेत्र नं. २ का उम्मेदवार बन्ने लगभग पक्कापक्की छ।

यता प्रदेश सभाका लागि क्षेत्र नं. १ (क) बाट पाटी सचिव कुमार राना र देवी अर्याल, (ख) बाट तुलसी गिरी र प्रेमप्रसाद पौडेलको सम्भावना बढी रहेको छ। प्रदेश सभाका लागि क्षेत्र नं. २ (क) बाट भोजराज अर्याल र खगेन्द्रराज रेग्मीमध्ये एक जना उम्मेदवार बन्ने निश्चित देखिएको पार्टी सचिव कुमार रानाले बताउनुभयो। त्यसमा पनि अर्याल वालिङ नगरपालिकाको पूर्वमेयरसमेत भएकाले बलियो उम्मेदवारका रूपमा लिने गरिएको छ। अर्कोतर्फ क्षेत्र नं. २ को (ख) बाट भागवतप्रकाश मल्ललाई नै पार्टीले उम्मेदवार बनाउन सक्ने आँकलन गरिएको छ। त्यसो त गुरुप्रसाद भट्टराई र इश्वर खाँण पनि चुनावी दौडमा अग्रपङ्तिमा नै देखिएका छन्। कार्यकर्ताले पनि विवेकशील, विकासशील र इमानदार नेतालाई छिटो टिकट दिएर अन्योल सिर्जना नगर्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्