सन्तोष अधिकारी, गोरखा

सशस्त्र संघर्षको बेला फरक–फरक विचार र नेतृत्वबाट राजनीतिमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पछि माओवादीको राजनीतिमा सँगै यात्रा गरे। लामो समयसम्म एउटै पार्टीमा रहेर एउटै विचारको राजनीतिक हस्ती रहेका उनीहरु अहिले फरक–फरक किनारमा छन्। अचम्म त के छ भने यी दुबै आसन्न प्रतिनिधि सभा निर्वाचनमा एक अर्काको प्रतिद्वन्द्वीसमेत हुन्। भट्टराई कांग्रेस र नयाँशक्तिका साझा उम्मेदवार हुन्। श्रेष्ठ एमाले र माओवादी केन्द्रका साझा। दुबैले आफ्नो गृहक्षेत्र गोरखा क्षेत्र २ बाट उम्मेद्वारी दर्ता गरेका छन्।

अब यी दुईमध्ये एकको मात्र जित हुनेछ। दुबैले चुनावी प्रचार तयारीका लागि गठबन्धनसँग मिलेर गाउँ छिर्ने बताइरहेका छन्। यसअघिका दुई निर्वाचनमा तत्कालीन अवस्थामा माओवादीकै उम्मेदवार बनेर बाबुराम भट्टराई नै निर्वाचित भएका थिए। ०७० को निर्वाचनमा पनि माओवादीकै नेता हितराज पाण्डे निर्वाचित भए। अहिले माओवादी फुटेको छ। माओवादीबाट फुटेर भट्टराईले नयाँ शक्ति नेपाल पार्टी स्थापना गरे। दुबैले ढुक्कसँग जित्ने आँकलन गर्न मुश्किल छ।

स्थानीय तहको मतको मतान्तर हेर्दा जम्मा एक सय ५८ मतको फरक देखिन्छ। गोरखा क्षेत्र नं. २ को मतदाता संख्या ९० हजार ८२६ छ। गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले १७ हजार ८८ र नयाँशक्तिले ७ हजार ८७७ मत पाएका थिए। दुवै पार्टीको मत जोड्दा २४ हजार ९६५ हुन्छ।

सोही क्षेत्रमा एमाले ७ हजार २०८ र माओवादी केन्द्रको १७ हजार ९१५ मत पाएका थिए। गबन्धनका यी दुई पार्टीको मत जोड्दा २५ हजार १२३ हुन्छ। सोही अंक गणितलाई आधार मान्ने हो भने पनि दुबैको जित सहज छैन। गोरखामा भट्टराईको गृहनगरसमेत रहेको पालुङ्टार नगरपालिका नयाँ शक्तिको सबैभन्दा धेरै मतदाता रहेको मानिन्छ। स्वयम् भट्टराई नै उम्मेद्वार हुँदा नारायणकाजीको भन्दा बाबुरामले त्यहाँ धेरै भोट पाउने निश्चित छ। अहिले क्षेत्र नं. २ मा गाभिएको गोरखा नगरपालिकाको केही वडाहरुमा पनि नयाँ शक्तिको पहुँच त्यति पातलो भने छैन। पालुङ्टार नगरपालिकामा स्थानीय चुनावमा नयाँशक्तिले ३ हजार ९७६ मत ल्याएको थियो। त्यहाँ कांग्रेसले ४ हजार ६९८, माओवादी केन्द्रले ४ हजार ४९१ र एमालेले २ हजार ४१० मत पाएका थिए।

त्यसो त नारायणकाजीको गृह गाउँपालिका सिरान्चोक गाउँपालिका पनि नेपाली कांग्रेसले नै जितेको क्षेत्र हो। नयाँ शक्तिले पनि केही वडामा जित हाँसिल गरेको छ। त्यस्तै श्रेष्ठको गृहगाउँ जौबारी भने अधिकांश मत उनैलाई जाने निश्चित छ। उनीहरुको मतदाता रहेको अर्काे गाउँपालिका अजिरकोट पनि जिल्लामै सबैभन्दा धेरै नेपाली कांग्रेसको पल्लाभारि भएको देखिन्छ। नेपाली कांग्रेसले नयाँ शक्तिका उमेद्वारलाई कत्तिको भोट हाल्छन् त्यसैमा भट्टराईको जित निर्भर छ।

भट्टराईले माओवादी छोडेर लोकतान्त्रिक पार्टी गठन र लोकतन्त्रलाई आफ्नो आइडोलोजी मान्ने कांग्रेससँग तालमेल गरिसकेकाले कांग्रेसीहरुले पनि भट्टराईलाई भोट हाल्ने कांग्रेस गोरखाका नेता सुकदेव दवाडीको तर्क छ। ‘बाबुरामलाई नदिए त झन् माओवादीले जित्छ। त्यसैले बाबुरामलाई नदिई सुखै छैन’ उनी भन्छन्। एउटा कुरा के प्रष्ट छ भने सबै कांग्रेसले भट्टराईलाई भोट भने हाल्ने छैनन्। भट्टराईलाई नगएको भने श्रेष्ठलाई पनि जाने छैन। श्रेष्ठ अहिलेको हिसाब किताबको आधारमा सुलिकोटमा केही बलियो छन्। सुलिकोट गाउँपालिका माओवादी केन्द्रले जितेको क्षेत्र हो। उसो त सुलिकोट गाउँपालिका अध्यक्ष जितेका विष्णु भट्ट नारायणकाजी निकटका नेता मानिन्छन्। उनी नारायणकाजीको प्रचारमा हिँड्न थालिसकेको बताउँछन्। अहिले श्रेष्ठ र भट्टराई प्रतिस्पर्धामा उत्रेको दुई नं. क्षेत्रमा शुलिकोट गाउँपालिका मात्रै माओवादी केन्द्रले जितेको छ।
भट्टराई भने अर्थमन्त्री, प्रधानमन्त्री हुँदा र हिसिला यमी भौतिक योजना मन्त्री हुँदा गोरखामा गरेको विकासको काम सम्झेर क्षेत्र नं. २ का मतदाताले आफूलाई मतदान गर्ने आधार पेश गर्छन्। ‘मैले गोरखाको विकासको नक्सा कोरेको छु काम गरेर त्यसमा रंग भर्न जनताले फेरि एकपटक मलाई जिताउने छन्’ भट्टराई भन्छन्।

नारायणकाजी पनि ढुक्क हुने अवस्था छैन। उनी आफैँ पनि ढुक्क छैनन्। गोरखा क्षेत्र नं. दुई मा माओवादीको प्रभावशाली मानिने भट्टराई नै माओवादीमा नभएपछि नारायणकाजी श्रेष्ठलाई जित हात पार्न पहिलेजस्तो सजिलो छैन। एमालेकै केही जिल्ला स्तरका नेताहरुले पनि गठबन्धनभन्दा बाबुरामलाई भोट हाल्ने आँकलन एमालेकै नेताहरुले गर्न थालेका छन्।

अहिले केही हदसम्म बाबुराम बलियो देखिन्छन्। बुधबार मात्रै राप्रपा र संघीय समाजवादी फोरमका उमेद्वारले भट्टराईलाई नै समर्थन जनाउने बताउँदै आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। उनीहरु दुबैको मत स्थानीय तहको मत जोड्दा ११ सय हुन आउँछ।

LEAVE A REPLY