लोकप्रियता बढाउँदै छठ पर्व



 

नेपाल समाचारपत्र
हेटौंडा
छठमा सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ। हेटौंडामा छठ पर्वको विशेष रौनक देखियो। छठको अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको थियो।

प्राचीन साँस्कृतिक राज्य मिथिलाञ्चलको लोकप्रिय चाड छठ आपसी भाइचाराको प्रतीक बनेको दृश्य हेटौंडामा देखियो। मधेसी मूलकाले मात्र मनाउने भनिएको छठ पूजा गर्न राप्तीतटमा लामबद्ध पहाडीमूलको संख्याले यसको लोकप्रियता बढेको अनुमान लगाउन सकिन्थ्यो।

बक्राकारमा बगेको राप्तीनदी किनारमा दिउँसोदेखि भेला भएका हजारौं भक्तजन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर शुक्रबार विहान उदाउँदो सूर्यको अघ्र्य दिँदै छठ समापन गरिएकोछ। कात्तिक शुक्ल षष्ठीको दिन पोखरी, तलाउ वा नदीको किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै विधिवत्रुपमा छठपर्व सुरु गरिएको हो।

पूजाका लागि सिंगारिएको नदी किनारमा श्रद्धालुहरूको बाक्लो उपस्थितिले छठ पूजा भित्री मधेसअन्तर्गत् पर्ने हेटौंडामा लोकप्रिय बन्दै गएको झल्को दिन्थ्यो। केही वर्ष अघिसम्म तराईबासीको चाडका रूपमा परिचित छठ पछिल्ला वर्षमा पहाडी जिल्लाहरूमा समेत लोकप्रिय बन्न थालेको छ।
बिहानैदेखि राप्ती नदीमा भेला भएका श्रद्धालुहरूले सरसफाइ गर्नुका साथै पूजाका सामग्री राखेर दिउँसोदेखि सूर्यलाई पृथ्वीको आत्मा मान्दै पूजाआजा गरेका थिए। अस्ताउँदो सूर्यलाई केरा, नियम निष्ठाले पकाइएका ठेकुवा, भुसना (मिठाइ) लगायत प्रसाद एक⁄एक गरी उठाएर चढाएपछि सूर्यको पूजा सम्पन्न हुन्छ।

शुक्रबार बिहान खोला, नदी वा पोखरीमा गई उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व समाप्त भएको छ। चार दिनसम्म मनाइने छठको पहिलो दिन श्रद्धालु भक्तजन नुवाइधुवाइ गरेर चोखो बस्छन् भने दोस्रो दिन निराहार व्रत बस्छन्। छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन गर्ने गरिन्छ।

छठ पर्वको व्रतले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यस पर्वलाई सत्य, अहिंसा, आपसी सद्भाव र पृथ्वीको सबै प्राणीप्रति सहानुभूति पर्वको रूपमा लिइन्छ। हेटौंडामा हरेक वर्ष छठ पूजा आयोजक समितिले छठ पूजा व्यवस्थापन मिलाउँदै आएको छ। शुक्रबार करिब ५० हजारले पूजा अवलोकन गरेको समितिले बताएको छ। छठ पूजाका लागि हेटौंडाको राप्तीरोडदेखि राप्तीनदीसम्म झिलिमिली बत्ती टाँगिएका थिए।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको शुरूआत भएको विश्वास गरिन्छ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्य किरणको चिकित्सामाथि कयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणबाट कयौं असाध्य तथा अक्षयरोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ।

प्रतिक्रिया दिनुहोस्