उम्मेदवार नहुँदै पैसा वितरण



 

नेपाल समाचारपत्र
काभ्रे
असोज २८ गते मध्यरातमा म्याद सकिएर पुनः उम्मेदवारको सूचीमा सिफारिस भएका निवर्तमान सांसदहरुले उम्मेदवारको अन्तिम निर्णय नहुँदै निर्वाचन आचार संहिताविपरीत योजनाका नाममा पैसा वितरण गर्न थालेका छन्।

नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार निवर्तमान सांसद तीर्थ लामाले जिल्ला समन्वय समितिमा असोज २८ गतेभित्र पेश गरिसक्नुपर्ने निर्वाचन क्षेत्र विकास र पूर्वाधार विकास दुबै कार्यक्रममा योजना छनोट नगरी निर्वाचनलाई केन्द्रित गरी योजना वितरण गरेका हुन्। पनौतीमा मल्पी ब्वाइज युनियनलाई उनले ई–लाईब्रेरीका लागि ५० हजार दिने घोषणा गरे। लामाले साविकको क्षेत्र नम्बर–१ का सबै गाविस र पछि विस्तारित भएका क्षेत्रहरुमा साढे ३ करोड रकमका योजनाहरु खल्तीमा राखेर अवस्था हेरी घोषणा गर्न थालेका छन्।

अर्का उम्मेदवार एवं नेपाली कांग्रेसका क्षेत्रीय सभापति निवर्तमान सांसद कञ्चनचन्द्र बादेले पनि योजनामा रकम वितरण गर्न थालेका छन्। बनेपाबाट सिनागाल जाने पुण्यमाता खोलाका लागि १० लाख रकम बोलेका बादेले बनेपामै रहेको टुकम्पो मन्दिरका लागि ५ लाख रकम कबोल गरेका छन्। व्यक्तिगत रकम विनियोजन गर्ने गरी बादे र लामाले योजनाहरु खल्तीमार्फत् वितरण गरिरहेका छन्। दुबैजना आगामी निर्वाचनका उम्मेदवार हुन्। उनीहरुलाई आचारसंहिता लाग्ने कि नलाग्ने ? भन्ने विषयमा कार्यकर्ता र दलहरुले आवाज उठाएका छन्। ‘देशव्यापी ६ सय १ सांसदहरुले यसरी नै रकम वितरण गर्ने हो भने निर्वाचन कसरी स्वच्छ बनाउन सकिन्छ ?’ –नागरिक समाजका एक अगुवाले भने।

आर्थिक वर्ष २०७४⁄२०७५ मा खर्च गर्ने गरी निर्वतमान सांसदहरुले योजना बाँडफाँड गरिसकेका छन्। उम्मेदवारहरुको सूची अन्तिम भई नसकेका कारण निवर्तमान सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्र्तगतको बजेट बाँडफाँड गर्न सकिरहेका छैनन्। प्रत्यक्षतर्फबाट विजयी भएका नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरु तीर्थ लामा र कञ्चनचन्द्र बादेले असोज मसान्तभित्र पेश गरिसक्नुपर्ने योजनाको सूची अझै नबुझाएका हुन्। प्रत्यक्षतर्फका सांसदद्वय रामहरी र विदुरले ५० लाख रकममध्येको निर्वाचन क्षेत्र विकास कोषअन्र्तगतका योजनाहरु पेश गरिसकेका छन् भने समानुपातिकतर्फका कमला दोङ, श्याम श्रेष्ठ र उद्योग राज्यमन्त्रीसमेत रहेका निर्वतमान सांसद रेशम लामाले समेत योजनाहरु पेश गरिसकेका छन्।

प्रत्यक्षतर्फका सांसदमार्फत् विनियोजन हुने ३ करोडबराबरका योजनाहरु भने टुंगो लागिसकेको छैन। सांसद विदुर सापकोटाले प्रस्तावित योजना भनेर पेश गरेका छन्।

तीन करोडका योजनाहरु छनोट गर्न निर्वाचन क्षेत्रमा ५१ प्रतिशत रकम विनियोजन गर्ने समानुपातिक सांसदहरु अनिवार्य रूपमा सदस्य बन्नेछन्। तीर्थको क्षेत्रमा माओवादी केन्द्रका सांसदद्वय श्याम श्रेष्ठ र कमला दोङले ५१ प्रतिशत रकम विनियोजन गरेका छन् भने सांसद सुवेदीको क्षेत्रमा रेशम लामाले ५१ प्रतिशत रकम विनियोजन गरेका छन्। त्यस्तै सांसद कञ्चनचन्द्र बादेको क्षेत्रमा एमालेका केशव बडालले ५१ प्रतिशत रकमका योजनाहरु छनोट गरेका छन्। क्षेत्र नम्बर ४ मा भने कुनै पनि सांसदहरुले ५१ प्रतिशतका योजनाहरु छनोट गरेका छैनन्। त्यही कारण सांसद विदुर सापकोटाले एकलौटी योजनाहरु छनोट गरी पठाइसकेका छन्। पार्टीबाट टिकट लिएर निर्वाचित सांसदहरुले एकलौटी रूपमा योजना छनोट गरेको विषयलाई पटक–पटक इस्यु बन्ने गरे पनि पार्टीले कडाइका साथ कार्यान्वयन गर्न नसकेको गुनासो आम कार्यकर्ताहरुको रहेको छ।

नेपाली कांग्रेसका तीर्थ प्रतिनिधि सभाक्षेत्र नम्बर १ बाट पार्टी एकीकरणअघि नै सर्वसम्वत उम्मेदवार भए पनि फोरमबाट आएका गणेश लामाले समेत दावी गरेपछि दुविधामा छन्। उनले विनियोजन गर्ने योजनाहरु आगामी चुनावी नारा बनाउने योजना बनाएका छन्। सोही कारण लामा र बादेले योजना छनोट नगरेका हुन्। ५० लाखसम्मका योजनाहरुको छनोट असोज मसान्तभित्रै गरिसक्नुपर्ने थियो। त्यही बेला असोज २८ गते सांसदहरु निर्वतमान भएपछि योजना छनोटलाई आगामी निर्वाचन केन्द्रित गरेका छन्। एमालेका दुबै सांसद प्रत्यक्षका उम्मेदवार भएनन् भने नेपाली कांग्रेसका दुबै सांसद पुनः उम्मेदवार बन्ने रस्साकस्सिमा छन्। बादे प्रतिनिधि सभा २ अर्थात् सोही निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ बाट उम्मेदवार बन्नेछन्। ५० लाखसम्मका योजनासमेत दुई सांसदहरुले पेश नगरेपछि जिल्ला समन्वय समिति अन्योलमा परेको छ। पेश गरेका योजनाहरु पनि कार्यकर्ता निकट छन्।

प्रतिक्रिया दिनुहोस्