पानी निकासमा भारतीय षड्यन्त्र



 

कुमार श्रेष्ठ, बाँके
नेपालगन्जको पानी दक्षिणी–पूर्वी रतैया नाला हुँदै भारततिर बग्छ। यो नालाबाट राम्ररी पानीको निकास नभए नेपालगन्ज बजार डुबानमा पर्छ। भारतले एकतर्फी दशगजामा बनाएको सडकजस्तो बाँधले रतैया नालाको निकासलाई सहजता दिएको छैन।

नेता तथा सुरक्षा अधिकारीहरूको बारम्बारको अनुरोध र दबाबले गर्दा भारतले पछिल्लो वर्ष सडकजस्तो बाँधमा रतैया नालाको पानी निकास हुने कल्भर्ट त बनाएको छ। तर, त्यसले पानीलाई सहजै निकास दिएको छैन। भारतीय अधिकारीले षड्यन्त्र गरेर रतैया नालाको सीधा बनाउनुपर्ने कल्भर्ट करिब १ सय मिटर टाढा बनाएका छन्।

‘रतैयाको पानी सहजै निकास हुँदैन’, हिरमिनियाका निरञ्जन यादवले भन्नुभयो– ‘पानी तालिएपछि बल्ल बिस्तारै पानी बग्न शुरू हुन्छ।’ नेपाली पक्षबाट भएको चर्को विरोधलाई थामथुम पार्न भारतले सडकजस्तो बाँधमा ३ वटा कल्भर्ट बनाएको छ। त्यसबाट सहजै पानी निकास हुँदैनन्। पानी तालिएर धेरै भएपछि बल्ल बग्छन्। रतैयाको नालादेखि टाढामात्रै होइन, अरू कल्भर्ट पनि उचाईमा बनाएर पानीको सहजै निकास दिइएको छैन।

२०७० देखि भारतले बाँकेको हिरमिनिया क्षेत्र हुँदै सडकजस्तो बाँध बनाइरहेको छ। देशभरमै १ हजार ७ सय ५२ किलोमिटर लम्बाई, ३० मिटर चौडाई र ३ देखि ७ मिटरसम्म उचाई रहेको सडकजस्तो बाँधले नेपालका धेरै भूभागलाई डुबानको चपेटामा पारेको छ। भारतले सीमामा गस्ती गर्न मात्रै नभएर नेपाली भूभागलाई डुबानमा पार्न सडकजस्तो पक्की बाँध बनाएको छ। त्यसो त सन् १९८५ मा राप्ती नदीमा बनाइएको लक्ष्मणपुर बाँध र सन् २००० मा दशगजामा बनाइएको कलकलवा तटबन्धले बाँकेका आधा दर्जन साविकका गाविस डुबानमा पर्दै आएको छ। वर्षामा लक्ष्मणपुर बाँधको ढोका थुन्ने र कलकलवा तथा सडकजस्तो बाँधले अन्तबाट पानी निकास हुन नदिएर भारतले नेपाली भूभाग डुबानमा पार्दै आएको छ।

राप्ती नदीमात्रै होइन, अरू खोलानालाको पनि भारतले निकास थुन्ने प्रयास गरेको छ। राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नै योबीचमा तटीय क्षेत्रका आधा दर्जन गाविसका ४ हजार बिगाहबढी जमिन मरुभूमि बनाइसकेको छ। ६० हजारबढी परिवार खाद्यअधिकारबाट वञ्चित भएका छन्।

राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धको मार नखेपेका हिरिमनियाका बासिन्दालाई सडकजस्तो बाँधले दुःख दिन शरू गरिसकेको छ। शुरूआती २ वर्ष डुबानमा परेका हिरमिनिया त्यसपछि काम चलाउ बनाइएको कल्भर्टले गर्दा बचेका छन्। ‘पानीको राम्रो निकास छैन, ठूलो पानी आयो भने त डुबानमा परिन्छ’, –स्थानीय शिक्षक यादवले भन्नुभयो।

फेरि दशगजामा सडकजस्तो बाँध बनाएर भारतले देशभरकै सीमावर्ती नेपाली गाउँलाई डुबानमा पार्दैछ। भारतको वन विभाग, रेलवेको विवादले बाँकेको पश्चिमतिर सडकजस्तो बाँध विस्तार हुन सकेको छैन। यी सरकारी विभागका बीचमा विवाद मिल्नेबित्तिकै भारतले फेरि सडकजस्तो बाँधलाई अगाडि बढाउँछ।

नेपालले सडकजस्तो बाँधलाई भत्काउन तथा विस्तार रोक्न सक्ने अवस्था देखिएको छैन। तथापि, पानी निकासका लागि उपयुक्त ठाउँमा कल्भर्ट बनाउन दबाब दिन जरुरी रहेको सम्बद्ध अधिकारीहरू बताउँछन्। भारतले पश्चिमतिर विस्तार गर्ने सडकजस्तो बाँधमा उपयुक्त पानीको निकास बनाउन नसकिए नेपालगन्ज बजार डुबानमा पर्छ। त्यसका लागि अहिलेदेखि नै खबरदारी गर्न जरुरी रहेको छ।

प्रतिक्रिया दिनुहोस्